विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकमा सामान्य विवादका क्रममा छुरी प्रहार गरी हत्या गरेको आरोपमा ८२ वर्षीय वर्ण सिंह आङदेम्बे पक्राउ परेका छन् ।
मंसिर २८ गते वर्ण सिंहले सोही ठाउँका ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा प्रेमराजको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै प्रहरी चौकी आङसाराङको टोलीले वर्ण सिंहलाई हत्यामा प्रयोग भएको छुरीसहित नियन्त्रणमा लिएको हो । कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कुमार कर्णसहितको टोली खटिएको छ ।
सुनसरीमा १३० किलो गाँजा र प्रतिबन्धित औषधिसहित ३ पक्राउ
यसैगरी, सुनसरीका दुई अलग–अलग स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका-३ नडाहामा बा.१८ च ३८३४ नम्बरको कार जाँच गर्ने क्रममा १३० किलोग्राम गाँजा बरामद गरेको छ । कारको पछाडिको सिट र डिक्कीमा लुकाएको अवस्थामा गाँजा भेटिएपछि चालक इटहरी-१७ का २४ वर्षीय करण साह र मोरङ विराटनगर-५ का २१ वर्षीय सचिन मेहता पक्राउ परेका छन् ।
त्यस्तै, अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१६ बाट सोही ठाउँका २९ वर्षीय विष्णु सुब्बालाई पक्राउ गरेको छ । उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेट बरामद गरिएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।