लोड हुँदैछ...

मेनु

घरमा भएको आगलागी निभाउने क्रममा दम्पती घाइते

घरमा भएको आगलागी निभाउने क्रममा दम्पती घाइते

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काशीजानस्थित एक घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते भएका छन्।

मोरङ प्रहरीका अनुसार आगोले पोलेर घाइते भएका दुवैको अवस्था सामान्य रहेको छ।

आगो निभाउने क्रममा सुनवर्षी–४ का २६ वर्षीय आवेशकुमार दास र उनकी २३ वर्षीया श्रीमती पूजा दास घाइते भएका हुन् । आगोले आवेशको निधार र पूजाको दायाँ हातमा पोलेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको छ ।

श्यामप्रसाद दासको दुईतले कच्ची घरमा आइतबार राति करिब १० बजेतिर आगलागी सुरु भएको थियो । आगोले घरसहित अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा रहेको टोलीले दमकल र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीले हालसम्म क्षतिको विस्तृत विवरण संकलन गरिनसकेको र आगलागीको कारण पनि खुलेको छैन। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंकामा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।