धरान । सुनसरीको धरानबाट बराहक्षेत्रको नडाहातर्फ जाँदै गरेको कारमा ठूलो परिमाणको गाँजा फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार मध्यराति बराहक्षेत्र नगरपालिका–३ नडाहा धरान जंगल क्षेत्रमा गरिएको संयुक्त चेकजाँचका क्रममा गाँजासहित उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट खटिएको संयुक्त टोलीले बा १८ च ३८३४ नम्बरको कार रोकी जाँच गर्दा पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकले प्याक गरिएको अवस्थामा पाँच वटा पोका फेला पारेको थियो । ती पोकाभित्र गाँजा १३० केजी फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार चालक इटहरी उपमहानगरपालिका–१७ पकलीका २४ वर्षीय करण साह र कारमा सवार विराटनगर महानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।