विराटनगर । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् । सहमतिको प्रयास सफल नभएपछि दुवै नेता चुनावी मैदानमा उत्रिने तयारीमा रहेकाले अहिले दुवै पक्ष आ–आफ्नो प्यानलका उम्मेदवारहरूको टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेका छन् ।
संस्थापनइतर (पोखरेल) पक्षबाट अध्यक्षमा ईश्वर पोखरेल उम्मेदवार बन्ने निश्चित भएको छ भने महासचिवको उम्मेदवारमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।
यसअघि महासचिव पदका लागि गोकर्ण विष्ट र योगेश भट्टराईले दाबी गरे पनि समूहभित्रको छलफलपछि गोकर्णलाई उपाध्यक्ष र योगेशलाई उपमहासचिवको उम्मेदवार बनाउने सहमति जुटेसँगै महासचिवमा पाण्डेको नाम पक्का भएको हो ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, बिन्दा पाण्डे र अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्षमा अझै एक जनाको नाम टुंगो लाग्न बाँकी छ । यस्तै, उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्नेछन् भने बाँकी दुई उम्मेदवारबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
सचिव पदका लागि रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटा चुनावी मैदानमा उत्रिने भएका छन् । सचिवमा पनि दुई जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।