- गोपाल किराती
शाही संकटकाल थोपरिएको साल २०५८ अन्तिम महिनातिर माओवादी नेत्री धर्मशिला चापागाइँ भूमिगत सेल्टर विराटनगरमा सुत्केरी हुनु भयो। त्यही दिन उहाँलाई गिरफ्तार गरेर सालनालसहितको छोरीसंग शाहीसेनाले ईटहरी ब्यारेकमा लगेर थुन्यो।
त्यसपछि युनिफाईड कमाण्ड (शाही सेना, सशस्त्र बल र नेपाल प्रहरी सम्मिलित) टोलीले कमरेड धर्मशिलालाई मार्न भनि दिनै पिच्छे मोरङ केराबारी हुँदै शिंहदेवी जंगलतिर लिएर जाने गर्यो । आँखामा पट्टि बाँधिएको रक्तमुछेल आमा र नाइटो काटिन बाँकी केही दिन अघि मात्र अस्तित्वमा आएकी बच्चीसंगै। प्रहरीका एक नायब निरीक्षक (सई)ले केही न केही समस्या झिक्ने गरेछन र हत्या नगरी आमा–छोरी धर्मशिलालाई इटहरी फर्काई रहे।
ती सईले एक दिन (केही धार्मिक विस्वास भएका काठमाडौंबाट आएका) निरीक्षक श्रेष्ठलाई भनेछन् – साब, यी महिला त आतङ्करी भइन्, तर भर्खरै जन्मेकी यिनकी छोरीको कशुर के ? आमालाई मार्दिएपछि सालनालसहितकी यी बच्चीको हालत के हुन्छ ? सैनिक अफिसरसंग तपाइँले सल्लाह गर्नोस, बरु कारागार पठाओं । आतङ्ककारी नै भए पनि यी आमा–छोरी हत्याको पाप नगरौं ।’
प्रहरी निरीक्षकले आँट गर्दा सैनिक अधिकृत सहमत हुन बाध्य भएछन र छोरीसहित कमरेड धर्मशिलालाई कारागार चलान गरिएछ। परिणामस्वरुप आमा–छोरीको ज्यान बच्यो। परन्तु, खेदको कुरा हो कि कमरेड धर्मशिला कारागारमा बन्दी रहनु भएकै समय उहाँकी जीवनसाथी कमरेड शंकर घिमिरे शाही सेनाद्वारा मारिनु भयो। छोरीले बाबू कहिल्यै देख्न पाईनन् ।
जब हामी कोचिला राज्य पार्टी इन्चार्जको जिम्मेवारीमा पुग्यौं, कमरेड धर्मशिला चापागाइँले उपरोक्त घटना विवरण बताउनु भयो। नभन्दै हामीले प्रदेश १ पार्टी ईन्चार्जको जिम्मेवारी सम्हालिरहेको बेला लेटाङस्थित पार्टी कार्यक्रममा पुग्दा ती मानवीयता रक्षक सई भेटिनु भयो। खुशीका साथ एक दिन कमरेड धर्मशिलासंग ती सईसाबको घरमा आभारसहित हामीहरु पुग्यौं।
यस प्रसंगमा अरुलाई छोडौं, श्रम अभियान संचालन गरिरहेका हर्क साङ्पाङ् र जेड पुस्ता आन्दोलनकारीलाई उपरोक्त घटनावारे ध्यान–हेक्का रहोस, भन्नै परेको छ। अन्यथा जरा बिनाको बोटवृक्षको अर्थ नहुने प्रष्ट छ। यो त एक प्रतिनिधि विवरण मात्र हो। नेपाली धर्तीमा महान जनयुद्वका वलिदानीपूर्ण किर्तिमान असाधारण छन। त्यस इतिहासप्रति नजरअन्दाज गर्नेहरु वस्तुतः जनद्रोही र देशद्रोही ठहर्ने छन ।
– किराँतीको फेसबुक स्टाटसबाट साभार




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।