विराटनगर । खोटाङको दिक्तेलमा शनिबार आयोजित आमसभामा हर्क साम्पाङ विदेशी ऋण र परनिर्भरताको विरोध गर्दै थिए । उनी भन्दै थिए, ‘विदेशी ऋणले होइन, आफ्नै देशभित्रको दमले, आफ्नै देशको स्रोत साधन परिचालन गरेर, अरुले दिएको त्यो जुठो हङ्डी चुसेर होइन, आफैँ गरेर…।’ यति भन्दाभन्दै ‘घ्यार्र’ आवाज आउँछ र माइक बन्द हुन्छ । साउन्ड सिस्टम ठप्प भयो । एकछिन अकमकिएका साम्पाङले जब माइक अफ भएको थाहा पाए, उनले हाँस्दै भने, ‘के भो ? डिस्चार्ज भयो कि क्या हो ? ।’
केही बेरमा उनले थाहा पाए– लाइन काटिएको रहेछ । त्यसपछि उनले आफ्नो ट्रेडमार्क शैलीमा हाँस्दै भने, ‘धन्यवाद छ ! साउन्ड सिस्टमले आज धोका दिइराखेको छ… लाइन त अब छैन नै होला… हुँदैन पनि… त्यस्तै हो हाम्रो… हा हा हा… कुलमान ! हाँसौं है एकछिन… ।’
उनको यो ‘हा हा हा…’ सहितको व्यंग्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले आफ्नो भाषण अवरुद्ध हुनुलाई संयोग मात्र मानेनन्, यसलाई आफूविरुद्धको षड्यन्त्रका रूपमा अथ्र्याउने गरेका छन् ।
खोटाङको घटना मात्र होइन, साम्पाङले भोजपुर, ताप्लेजुङ, संखुवासभा, हेटौंडा र चितवनसम्म आफ्नो नेतृत्वको श्रम संस्कृति पार्टीले आयोजना गरेको कार्यक्रममा आफूले भाषण गर्नै लाग्दा लाइन काटिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ऊर्जा मन्त्री कुलमान घिसिङलाई सिधै निशाना बनाएका छन् । उनले लेखेका छन्, ‘कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौंडा जाँदैछु त्यहाँ नि काटिदिनु है ! एमसीसीलाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु ल ! ।’
हेटौंडाको हुप्रा चौर र चितवनको कार्यक्रममा पनि लाइन नभएको भन्दै उनले यसलाई ‘खुट्टा तान्ने र बाटो छेक्ने राजनीति’ को संज्ञा दिए । उनले व्यंग्यात्मक रूपमा ‘ऊर्जा मन्त्रीज्यूलाई धन्यवाद’ भन्दै सरकारले आफूलाई असफल बनाउन खोजेको सन्देश दिएका छन् ।
मेयर साम्पाङले नियोजित रूपमा लाइन काटिएको गम्भीर आरोप लगाएपछि नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशक इन्जिनियर मुनिन्द्र ठाकुरले यसमा सत्यता नभएको बताएका छन् । उनले साम्पाङको आरोपलाई निराधार र झुटो भएको दाबी गरे । निर्देशक ठाकुरले प्राधिकरणले व्यक्तिको अनुहार हेरेर वा राजनीतिक आस्थाका आधारमा लाइन काट्ने कल्पना समेत गर्न नसक्ने बताए । ‘उहाँ (हर्क साम्पाङ) ले भनेजस्तो कुलमान सरले फोन गरेर फलानो ठाउँको लाइन काट भन्नुहुन्छ भन्ने कुरा यो जमानामा असम्भव छ,’ ठाकुरले भने, ‘लाइन काट्नका लागि सिस्टममा कारण देखाउनुपर्छ । लगबुकमा इन्ट्री गर्नुपर्छ । विना कारण कर्मचारीले लाइन काट्नै सक्दैनन् ।’
ठाकुरले साम्पाङको कार्यक्रम भएको समयमा लाइन जानुलाई ‘संयोग’ र ‘प्राविधिक बाध्यता’ का रूपमा प्रष्ट्याएका छन् । उनका अनुसार लाइन जानुमा दुईवटा कारण हुन सक्छन् । जसमा रिुखका हाँगा काट्ने, पोल सार्ने वा ट्रान्सफर्मर मर्मत गर्ने नियमित काममा पनि लाइन काटिने गरिन्छ । जुन काम पूर्व निर्धारित हुन्छ र कर्मचारीले आफ्नो सेड्युल अनुसार गर्छन् । यस्तै माग र आपूर्तिमा सन्तुलन नमिल्दा वा ओभरलोड हुँदा सिस्टम आफैँ ट्रिप हुनसक्छ । ‘यदि उहाँको टिमले कार्यक्रमबारे सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराएको भए, हामीले नियमित मर्मतको काम रोकेर भए पनि बिजुली दिन्थ्यौं,’ ठाकुरले भने, ‘तर कर्मचारीलाई कार्यक्रम छ भन्ने नै थाहा हुँदैन, उनीहरू आफ्नो काम गरिरहेका हुन्छन् । यस्तो अवस्थामा लाइन काटिँदा उहाँले आफूलाई लक्षित गरेको ठान्नुभयो, जुन सत्य होइन ।’
ठाकुरले कसैले कसैलाई अहिलेको जमानामा लाइन काट्नै नसक्ने दाबी गरे । ‘अहिलेको समयमा कसैले कसैलाई फोन गरेर लाइन काट भन्यो भने त्यो अडियो÷भिडियो बाहिर आइहाल्छ । कुलमान सरजस्तो जिम्मेवार व्यक्तिले यस्तो आदेश दिनुहुन्छ भनेर सोच्नु नै गलत हो,’ उनले भने ।
प्राधिकरणले विद्युत् आपूर्तिमा कहिलेकाहीँ आउने प्राविधिक समस्यालाई राजनीतिक रंग नदिन र भ्रम नफैलाउन आग्रह गरेको छ । यता साम्पाङ भने आफ्नो यात्रामा निरन्तर अवरोध सिर्जना गरिएको भन्दै सरकारप्रति आक्रामक बनिरहेका छन् ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेले लाइन काटिएको कुरा सत्य भएको दाबी गरे । यद्यपि आफ्नो पार्टीले यस विषयमा प्राधिकरणलाई जानकारी वा ध्यानाकर्षण नगराएको बताए । ‘हामीले प्राधीकरणलाई भनेका छैनौं । लाइन धेरै जसो कार्यक्रममा काटिएको छ,’ उनले भने, ‘तर हामीले जेनेरेटर स्ट्याण्डबाइ राख्ने गरेका छौं ।’







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।