विराटनगर । विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आफ्नो ५९औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०२३ सालमा सुनसरीको धरानमा स्थापना भई २०३३ सालमा विराटनगर स्थानान्तरण भएको यो केन्द्र आइतबारदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा केन्द्रको इतिहास र योगदानको चर्चा गरियो। करिब ६ दशकको यात्रामा यस केन्द्रले नेपाल प्रहरी संगठनका लागि ८४ हजार २ सय ७ जना दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गरिसकेको छ।
केन्द्रका प्रवक्ता डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार यहाँ प्रहरी जवानदेखि वरिष्ठ सईसम्मका लागि आधारभूत, उन्नत तथा सेवाकालीन तालिम सञ्चालन हुँदै आएका छन्। केन्द्रका समादेशक एसएसपी गोविन्द अधिकारीले समयसापेक्ष र व्यवहारिक प्रशिक्षणमा जोड दिइएको बताउँदै मोरङको सुन्दरहरैँचामा ५० बिघा जग्गामा पूर्वाधार विकास गरी केन्द्रलाई स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिए।
वार्षिकोत्सवका अवसरमा आयोजित फुटबल, भलिबल, ब्याडमिन्टन, दौड लगायतका खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। सोही अवसरमा डीआईजी घिमिरेले केन्द्रको वार्षिक प्रकाशन ‘प्रहरी जवान स्मारिका–२३’ को विमोचन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीआईजी घिमिरेले तालिम केन्द्र प्रहरी संगठनको आधारस्तम्भ भएको बताए। उनले बदलिँदो सुरक्षा चुनौती सामना गर्नसक्ने अनुशासित र नागरिकमैत्री प्रहरी उत्पादन गर्न तालिम केन्द्रले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे।
हाल केन्द्रमा विभिन्न तहका ४ सय ७३ जना प्रशिक्षार्थीहरू तालिमरत छन्। समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्व कर्मचारी तथा सहयोगी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।








प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।