लोड हुँदैछ...

मेनु

विराटनगरमा तीन हजार किलो गाँजा आगो लगाएर नष्ट

विराटनगरमा तीन हजार किलो गाँजा आगो लगाएर नष्ट

विराटनगर । पछिल्ला तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको गाँजा शनिबार आगो लगाएर नष्ट गरिएको छ।

आर्थिक वर्ष २०७८–०७९ देखि चालु आर्थिक वर्ष २०८२–०८३ को हालसम्म इलाका प्रहरी कार्यालय रानी तथा त्यसअन्तर्गतका युनिटहरूले बरामद गरेको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको हो।

प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका कारण लामो समयसम्म गोदाममा राखिएको थियो। अदालतको आदेश र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शनिबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा आगो लगाएर गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। नष्ट गरिएको गाँजाको परिमाण तीन हजार किलो रहेको छ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईले जिल्ला अदालत मोरङका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा कानुनअनुसार गाँजा नष्ट गरिएको जानकारी दिए। लामो समयदेखि संकलन भएर राखिएको गाँजा एकमुष्ट रूपमा नष्ट गरिँदा अवैध लागुऔषधको जोखिम कम गर्न मद्दत पुग्ने उनको भनाइ छ।

प्रहरी स्रोतका अनुसार नष्ट गर्नुअघि गाँजाको परिमाण र बरामद मितिसमेतको विवरण मिलान गरिएको थियो। अदालतबाट स्वीकृति प्राप्त भएपछि मात्रै नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

स्थानीय जनप्रतिनिधिहरूले ठूलो परिमाणमा गाँजा नष्ट हुनु लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता देखाउने कदम भएको बताएका छन्। मोरङ जिल्ला लागुऔषध ओसारपसार र कारोबारका दृष्टिले संवेदनशील मानिँदै आएको छ।

खुला सीमा र राजमार्ग नजिकका क्षेत्र प्रयोग गरेर गाँजा तथा अन्य लागूऔषध ओसारपसार हुने गरेको भन्दै प्रहरीले यसविरुद्ध कडाइ गर्ने र बरामद भएका लागूऔषध कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।