धरान । नेवार समुदायको मौलिक परिकार यमरी तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको धरानमा छैटौँ यमरी उत्सव सुरु भएको छ।
तीन दिनसम्म चल्ने उत्सव मङ्सिर २७ गतेदेखि २९ गतेसम्म धरान–३ स्थित शंखरधर साख्वा, चन्द्रपुर बजार, चिनियाँ चोक र जल्पा रोड क्षेत्रमा सञ्चालन भइरहेको छ ।
उत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका थिए । मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विविध भेषभूषायुक्त मुलुक भएको उल्लेख गर्दै नेवार समुदायले नेपालको निर्माण र सांस्कृतिक पहिचानमा खेलेको ऐतिहासिक भूमिकाको चर्चा गरे ।
मन्त्री मण्डलले यमरीलाई नेवार संस्कृतिको महत्त्वपूर्ण पहिचानका रूपमा उल्लेख गर्दै पर्यटन विकासका लागि संस्कृति, प्रकृति र विकास तीनै पक्ष उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरे । मौलिक संस्कृति र भेषभूषाले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने उनको भनाइ थियो ।
उत्सवको अवसरमा ५ फिट अग्लो यमरीसहितको र्यालीले धरानका मुख्य बजार परिक्रमा गरेको छ । उक्त यमरी उत्सव स्थलमा आकर्षक रूपमा सजाएर राखिएको छ । तीन दिनसम्म चल्ने उत्सवमा घर–घरमा यमरी राख्ने परम्परा, सांस्कृतिक झाँकी, नेवारी नाच–गान, परम्परागत भेषभूषा प्रदर्शन तथा नेवारी खानाका स्टलहरू राखिएका छन्।
यःमरी पुन्ही नेवार समुदायको महत्त्वपूर्ण पर्वका रूपमा चिनिन्छ। यस उत्सवले स्थानीय संस्कृति जगेर्ना, परम्परा संरक्षण तथा समुदायगत पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजक संस्था पाखा खल धरानले लिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।