भोजपुर । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेको पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ।
पुस्तान्तरणको अभाव, बजाउने सीप भएका व्यक्तिको कमी र आधुनिक बाजाप्रतिको बढ्दो आकर्षणका कारण मौलिक परम्परा सङ्कटमा परेको हो ।
बजारमा आधुनिक बाजाको सहज पहुँच बढेसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग घट्दै गएको छ । पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्र प्रयोग हुने गरेपनि अहिले गाउँघरमा यस्ता वाद्ययन्त्र र बजाउने सीप भएका व्यक्ति पाउन कठिन हुँदै गएको स्थानीय नीरबहादुर परियारले बताए ।
पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिने गरेको स्मरण गर्दै परियारले अचेल आधुनिक डिजे बाजाले त्यसको स्थान लिँदा परम्परागत बाजा बजाउने चलन हराउँदै गएको बताए । नेपालकै मौलिकता झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा संरक्षणको जोखिम झन् बढेको छ ।
पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरुले बताउँदै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।