लोड हुँदैछ...

मेनु

इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फागुन २ देखि ९ गतेसम्म

इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फागुन २ देखि ९ गतेसम्म

इटहरी । सुनसरीको इहटरीमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा सञ्चालन हुने इटहरी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन २ गतेदेखि सुरु हुने भएको छ।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगिता यस पटकदेखि अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक द योङ ब्रदर्श क्लब इटहरीले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका संरक्षक विकास केसीले अघिल्ला दुई संस्करण प्रदेशस्तरीय रहेकामा यसपटक अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरबाट फुटबल खेलाडी उत्पादन गर्नु हो।

पछिल्लो समय इटहरीमा फुटबल खेलाडीको अभाव महसुस भएपछि नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका ८ वटा टिमको सहभागिता रहनेछ । केही टिमसँग अन्तिम सहमति हुन बाँकी रहेको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा विजेता टिमले ४ लाख ४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २ हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३–१३ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गर्नेछ भने कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।