लोड हुँदैछ...

मेनु

कांग्रेसमा जेनजी पुस्ताको आकर्षण बढ्दै : कोइराला

कांग्रेसमा जेनजी पुस्ताको आकर्षण बढ्दै : कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसप्रति जेनजी समूहको आकर्षण बढ्दै गएको बताएका छन् ।

गिरी फाउण्डेसनको संयोजनमा नेपाली कांग्रेस विराटनगर वडा नम्बर ८ वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उपसभापति कोइरालाले जेनजी समूहको असली अभिभावक कांग्रेस मात्रै भएको धारणा राखे ।

कांग्रेसको नेतृत्वमा देशका हरेक समस्या समाधान गरेको इतिहास कोट्याउँदै कोइरालाले अहिलेको देशको राजनैतिक संकट पनि कांग्रेसले नै समाधान गर्ने दाबी गरे । ‘२००७ साल सालदेखिको इतिहास हेर्ने हो भने हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । २०४६ साल, ६२÷६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान जारी गर्नेदेखि तीनै तहको शान्तिपूर्ण रुपमा निर्वाचन गर्ने पनि कांग्रेसले नै नेतृत्व गरेको छ,’ उनले भने, ‘अहिलेको राजनैतिक संकटको निकास पनि कांग्रेसले नै दिन्छ ।’

कांग्रेसले आफूले हारेर पनि जहिले पनि देश र जनताको उन्नतिका लागि काम गरेको स्मरण गराए । कोइरालाले नवप्रवेशीहरुलाई सकारात्मक सोचका साथ पार्टीको संगठनमा लाग्न आग्रहसमेत गरे ।

त्यस्तै महासमिति सदस्य तथा पूर्वराज्यमन्त्री दिलीप गच्छदारले राजनैतिक नेतृत्व मात्रै नभएर आर्थिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्ने बताए । त्यस्तै अर्का महासमिति सदस्य विश्वनाथ रिजालले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । उनले जेनजी आन्दोलनबाट पाठ सिकेर पार्टी नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वडा सभापति सिर्जन आचार्य (मुकेश) को अध्यक्षतामा भएको कार्यक्रममा गिरी फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी अभिषेक गिरीले युवा पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको धारणा राखे । पार्टी प्रवेशको लहरले जेनजी समूहले कांग्रेसलाई विश्वास गरेको उनको भनाइ थियो । कांग्रेस बलियो भयो भने मात्रै देश र जनता बलियो हुने बताउँदै गिरीले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोइरालासहित महासमिति सदस्यद्वय गच्छदार, रिजाल, क्षेत्रीय सभापति विनोद बस्नेत, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ४ (ख)का सभापति सुबोध निरौला, सचिव सन्तनु रेग्मी, युवा नेता कृष्ण कार्की, मुकेश घिमिरेलगायतले अविर, खादा लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।