लोड हुँदैछ...

मेनु

एनपीएल : लुम्बिनी लायन्स बन्यो च्याम्पियन

एनपीएल : लुम्बिनी लायन्स बन्यो च्याम्पियन

काठमाडौँ । साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा जित हासिल गर्दै नयाँ च्याम्पियनको इतिहास रचेको हो। यससँगै सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक एनपीएलको उपविजेतामा सीमित भएको छ।

दिनेशको आक्रामक ब्याटिङ
लुम्बिनीलाई सहज जित दिलाउन ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रनको योगदान दिए। इनिङ्सको पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ४ छक्का प्रहार गर्दै दिनेशले खेललाई लुम्बिनीको पक्षमा मोडेका थिए।

अर्का ओपनर डार्शी सर्ट १३ रन बनाएर आउट भए भने सुदूरपश्चिमका बलर हेमन्त धामीले एकै ओभरमा सर्ट र दिनेश दुवैको विकेट लिए पनि लुम्बिनीको जित रोक्न सकेनन्।

रोहितको ह्याट्रिक र सुदूरपश्चिमको ब्याटिङ ध्वस्त
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। यो योगफल एनपीएल फाइनल इतिहासकै सबैभन्दा कम स्कोर हो।

सुदूरपश्चिमको ब्याटिङ लाइनलाई ध्वस्त पार्न लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले घातक बलिङ गरे। कप्तान रोहितले ११औँ ओभरमा ह्याट्रिकसहित ३ विकेट लिए। उनले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई लगातार पेभिलियन फर्काएका थिए।

त्यस्तै, रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए भने शेर मल्लले पनि ३ विकेट हात पारे। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनु बाहेक अन्य ब्याटरले खुलेर खेल्न सकेनन्।

लुम्बिनीको उत्कृष्ट पुनरागमन
प्रतियोगिताको सुरुवाती चरणमा खराब प्रदर्शन गरेको लुम्बिनीले प्रतियोगिताको उत्तरार्धमा जादुयी प्रदर्शन गर्यो। पहिलो खेल जितेपछि लगातार तीन खेल हारेर लिग चरणबाटै बाहिरिने खतरामा पुगेको लुम्बिनीले, त्यसपछिका लगातार ६ खेल जित्दै उपाधि उचाल्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।