विराटनगर । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष नेताहरूले वर्तमान राजनीतिक गतिरोध, असंवैधानिक संसद् विघटन र देशको आगामी निकासका विषयमा आ–आफ्नो धारणा राखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनालाई मुख्य एजेन्डा बनाउँदा अन्य दलका नेताहरूले पनि वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै निकासको खोजीमा जोड दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताए । उनले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प गर्दै भने, ‘अहिले तत्कालका लागि अनधिकृत सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ।’
ओलीले वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनलाई ‘नाटक’को संज्ञा दिए। उनले सरकारले चुनावको मिति तोके पनि तयारी नगरेको र देशमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए।
आफ्नो प्रधानमन्त्रित्व कालको समीक्षा गर्दै ओलीले भदौ २३ र २४ गतेका हिंसात्मक घटनाहरू मुलुकलाई गृहयुद्धमा फसाउने र राज्यको मेरुदण्ड भाँच्ने षड्यन्त्र भएको दाबी गरे। ‘लोकन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने षड्यन्त्र भएपछि थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ,’ उनले भने।
ओलीले नयाँ पुस्ता (जेनजी)लाई आश्वस्त पार्दै एमाले प्रविधिमैत्री र भविष्यमुखी पार्टी रहेको बताए। उनले युवाहरूको आक्रोशलाई हिंसाको इन्धन नबनाउन आग्रह गर्दै एमालेको झमुनि गोलबन्द हुन अपिल गरे। साथै, उनले पार्टी एकतालाई ुएक र एक एघारु को शक्तिका रूपमा व्याख्या गरे।
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अध्यक्ष ओलीको रोडम्यापसँग सहमति जनाउँदै निर्वाचनअघि सर्वपक्षीय अन्तरिम सरकार गठनको प्रस्ताव गरे। उनले वर्तमान सरकारलाई ‘अँध्यारो कुनाबाट बनेको अवैध सरकार’ को संज्ञा दिँदै भने, ‘देशलाई निकास दिन राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्छ। सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन वा संशोधन जे गर्नुपर्छ, गरेर मात्र चुनावमा जानुपर्छ।’
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै राष्ट्रिय स्वाधीनताका लागि वाम एकतामा जोड दिए।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ का घटनाहरूको छानबिन गर्न गठित आयोगले बिना पूर्वाग्रह काम गर्नुपर्ने बताए। उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थानहद र सुरक्षा चुनौतीप्रति गम्भीर प्रश्न उठाए। ‘नागरिकको जीउधन र सुरक्षाकर्मीको हुर्मत लिने कार्यको निष्पक्ष छानबिन हुनुपर्छ,’ खड्काले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै संविधान ब्युँताएर मात्र समस्या समाधान नहुने भन्दै राजासहितको नयाँ समझदारी आवश्यक रहेको औँल्याए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले ‘जेनजी’ आन्दोलन लामो समय राज्यसत्ता चलाउने दलहरूकै कुशासनको परिणाम भएको बताए। उनले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण रूपमा हिरासतमा राखिएको भन्दै विरोध जनाए।
जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीले २०८४ को चुनाव २०८२ मा गर्न खोज्नुको औचित्य पुष्टि हुनुपर्ने बताए भने जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले एमालेसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।