लोड हुँदैछ...

मेनु

मोरङमा बालबालिका हराउने क्रम बढ्यो, ५ महिनामा १३५ जना बेपत्ता

मोरङमा बालबालिका हराउने क्रम बढ्यो, ५ महिनामा १३५ जना बेपत्ता

विराटनगर । मोरङ जिल्लामा पछिल्लो समय बालबालिका हराउने घटनामा उल्लेखनीय वृद्धि भएसँगै अभिभावक र विद्यालय सञ्चालकहरूमा चिन्ता छाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क अनुसार बालकभन्दा बालिकाहरू हराउने क्रम बढी देखिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷ ०८३ को मङ्सिर मध्यसम्ममा जिल्लामा ३१ जना बालक र १०४ जना बालिका गरी कुल १३५ जना बालबालिका हराएको उजुरी प्रहरीमा परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार हराएकामध्ये २४ बालक र ८७ बालिकालाई प्रहरीले सकुशल फेला पारी अभिभावकको जिम्मा लगाइसकेको छ । यद्यपि, अझै ७ जना बालक र १७ जना बालिका फेला पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बालबालिका विद्यालय जाने–आउने समयमा बढी हराउने गरेको पाइएपछि विराटनगरका विद्यालयहरूले सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।

विराटनगर–२ स्थित बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल मणि भट्टराईले जोखिम कम गर्न विद्यालय परिसरभित्रैबाट विद्यार्थी चढाउने र ओराल्ने व्यवस्था मिलाइएको बताए । उनले भने, ‘‘विद्यार्थी एक दिन पनि अनुपस्थित भए तत्काल अभिभावकलाई फोन गरेर बुझ्ने गरेका छौँ ।’’ धेरैजसो अभिभावकले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्ना छोराछोरीलाई आफैं विद्यालय पुर्याउने र ल्याउने गर्न थालेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले भने धेरैजसो घटनामा अपहरण वा गम्भीर अपराध नभई बालबालिकाहरू अभिभावकलाई जानकारी नदिई साथीभाइसँग घुम्न जाने कारणले ‘मिसिङ’ हुने गरेको देखाएको छ । सानै उमेरमा साथीसङ्गीको लहलहैमा लाग्दा यस्ता घटना हुने गरेको भन्दै सरोकारवालाहरूले घरमै अभिभावकले बालबालिकालाई उचित मनोपरामर्श र निगरानी गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।