लोड हुँदैछ...

मेनु

घुन्सास्थित प्रहरीलाई माइनस १० डिग्री सहने स्लिपिङ ब्याग

घुन्सास्थित प्रहरीलाई माइनस १० डिग्री सहने स्लिपिङ ब्याग

ताप्लेजुङ । ताप्लेजुङस्थित ३ हजार १ सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सामा बस्ने प्रहरीका लागि गाउँपालिकाले न्यानो स्लिपिङ ब्याग उपलब्ध गराएको छ ।

पुस–माघमा अत्यधिक चिसो हुने क्षेत्र भएकाले गाउँमै बस्नुपर्ने सुरक्षाकर्मीलाई न्यानोका लागि सहयोगस्वरूप स्लिपिङ ब्याग प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार उपलब्ध गराइएका स्लिपिङ ब्याग माइनस १० डिग्री तापक्रमसम्म उपयोगी हुने छन् । घुन्सास्थित प्रहरी चौकीको अवस्थाबारे अवलोकनका क्रममा ओढ्ने–ओछ्याउनेको अत्यधिक समस्या देखिएपछि काठमाडौंबाट अर्डर गरेर विशेष स्लिपिङ ब्याग बनाइएको उनले बताए ।

एउटा ब्याग बनाउन करिब सात हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । फक्ताङलुङ गाउँपालिकाको ३१ सय मिटर उचाइमा ओलाङचुङगोला सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी बेसक्याम्प तथा घुन्सामा इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।

प्रहरी कार्यालयमा ११ जनाको दरबन्दी रहेपनि सामान्यतया पाँच जना छन् । सदरमुकाम फुङलिङबाट तीन दिन यात्रा गर्नुपर्ने घुन्सा पुग्न दुई दिन पैदल हिँड्नुपर्ने भएकाले सुरक्षाकर्मीहरू धेरै सामान बोकेर जान सक्दैनन् । स्लिपिङ ब्याग काठमाडौंबाट घुन्सा जाने हेलिकप्टरमार्फतै पठाइएको छ ।

कञ्चनजङ्घा आधार शिविर जाने पर्यटकको सुरक्षासहित स्थानीयको संरक्षणका लागि स्थापना गरिएको घुन्सास्थित प्रहरी इकाइलाई कठ्याङ्ग्रिने चिसोमा केही सहजता पुर्‍याउन सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।