खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन विपन्न परिवारका लागि भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने भएको छ ।
नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले अति विपन्न अवस्थाबाट गुज्रिरहेका ती परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार मंसिर २० गते बसेको बैठकले नगरपालिका–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको परिवारलाई घर बनाइदिने निर्णय गरेको छ । उनीहरूको १२ वर्षीया छोरी तारा सार्की गत साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्रामका राम हिङ्माङको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि दुरावस्थाले परिवारलाई थप संकटमा पारेको थियो।
यस्तै, नगरपालिका–६ मङ्गलटारका भया दमाई र वडा नं।–२ डिकुवाका देशवीर राईका परिवारलाई पनि भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले निर्णय गरेको छ । उनका अनुसार यी तीन विपन्न परिवारलाई ४ महिनाअघि नै १५–१५ हजार रुपैयाँ नगद सहयोग तथा खाद्यान्न वितरण गरिएको थियो।
प्रवक्ता गिरीका अनुसार नगरपालिकाले निर्णयअनुसार छिट्टै घर निर्माण प्रक्रिया अघि बढाउनेछ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।