विराटनगर । भोजपुरमा ८ वर्षअघि श्रीमतीको हत्या गरी फरार रहेका नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ।
भोजपुर नगरपालिका–६ देउरालीका ६३ वर्षीय राई २०७४ साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)लाई कुटपिट गरेर हत्या गरेको अभियोगमा फरार रहेका थिए।
भोजपुर प्रहरीका निमित्त प्रमुख तथा प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार घरमा सुतिरहेकी श्रीमतीको उनले हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर तत्कालै भागेको राई लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले राईलाई बेलबारी नगरपालिका–३ मा रहेको डेरानजिकैबाट पक्राउ गरेको हो । उनी त्यहाँ छत्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएको खुलेको छ ।
भोजपुरबाट खटिएको टोली बेलबारी प्रहरीको सहयोगमा राईलाई नियन्त्रणमा लिएर भोजपुर लगिएको छ । अहिले उनी जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको प्रक्रियामा रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा घरयासी विवादकै कारण हत्या भएको देखिएको प्रहरीले जनाएको छ । घटनाका अन्य पक्ष विस्तृत अनुसन्धानपछि मात्र प्रष्ट हुने पराजुलीले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।