विराटनगर । राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन भन्ने भनाइलाई नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले फेरि एकपटक पुष्टि गरेकी छन् । कुनै बेला अध्यक्ष केपी शर्मा ओलीको नाम सुन्नासाथ आगो ओछ्याउने र सडकमा सबैभन्दा चर्को स्वरमा ‘प्रतिगमन’ भन्दै खेदो खन्ने उनै झाँक्रीको बोली ११औँ महाधिवेशनको मुखमा एकाएक फेरिएको छ ।
हिजो ओली प्रवृत्तिको विरोध गरेर नथाक्ने झाँक्री आज ओलीमाथि सानो आँच आउँदा पनि ‘ढाल’ बनेर उभिन थालेकी छन् ।एमालेको ११औँ महाधिवेशनको संघारमा आइपुग्दा झाँक्रीले अध्यक्ष ओलीको बचाउमा दिएको पछिल्लो अभिव्यक्तिले उनी पुरानो ‘विद्रोही’ छवि बिर्सेर नेतृत्वको ‘गुडबुक’ मा पर्न लालायित भएको स्पष्ट संकेत गरेको छ ।
झाँक्रीले भदौ २३ गतेको ‘जेन–जी’ आन्दोलन र संसद भवन वरपरको घटनालाई लिएर पूर्वप्रधानमन्त्री ओलीमाथि हत्या अभियोग लगाउन खोज्नु राज्य संयन्त्र नै ध्वस्त पार्नु हो भन्दै कडा प्रतिवाद गरेकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘जेन–जी आन्दोलनमा भएका घटनाका लागि पूर्वप्रधानमन्त्रीलाई कानुनी कारबाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु भनेको नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्नु हो ।’
हिजो ओलीले चालेका कदमलाई असंवैधानिक र निरंकुश भन्दै पार्टी फुटाएर हिँड्ने हिम्मत गरेकी झाँक्रीले आज ओलीमाथि प्रश्न उठाउनुलाई ‘राज्य संयन्त्र कमजोर पार्ने खेल’ को संज्ञा दिएकी छन् । उनले गोली काण्डको जिम्मेवारी प्रधानमन्त्री ९ओली० लाई बोकाएर आपराधिक दायरामा ल्याउन नहुने जिकिर गरेकी छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार झाँक्रीको यो ‘यु–टर्न’ स्वभाविक नभई आसन्न महाधिवेशन केन्द्रित छ । एमालेभित्र पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न र अध्यक्ष ओलीको विश्वास जित्नकै लागि उनले विगतका तिक्तता बिर्सेर गुणगान गाउन सुरु गरेको देखिन्छ ।
भविष्यमा आफू वा आफ्ना नेताहरू सत्तामा हुँदा यस्तै नजिरले अप्ठ्यारो पार्न सक्ने भन्दै उनले ‘आवश्यकताको सिद्धान्त’ को वकालत गरेकी छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।