लोड हुँदैछ...

मेनु

भेन्टिलेसन तोडेर भाग्ने ‘राजु’ र ‘हत्या आरोपी’ एकैरात पक्राउ

भेन्टिलेसन तोडेर भाग्ने ‘राजु’ र  ‘हत्या आरोपी’ एकैरात पक्राउ

विराटनगर । प्रहरीको आँखा छलेर हिरासत तथा सुधारगृहबाट फरार भएका दुई अभियुक्तलाई मोरङ प्रहरीले एकै रात शुक्रबार बिहानको राति पक्राउ गर्न सफल भएको छ।

विराटनगरस्थित कोशी अस्पतालको शौचालयको भेन्टिलेसन तोडेर भागेका चोरी मुद्दाका अभियुक्त र बाल सुधारगृहबाट सुरक्षाकर्मीलाई आक्रमण गरी भागेका कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीले अढाई महिना र केही हप्ताको अन्तरालपछि पक्राउ गरेको हो।

चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको कटहरी गाउँपालिका–१ का २० वर्षीय मोहमद राजु गत असोज १२ गते अस्पतालबाटै फरार भएका थिए। कारागारमा पेट दुख्ने नाटक गरेर उपचारका लागि कोशी अस्पताल पुगेका उनी, शौचालय जाने बहानामा भेन्टिलेसनबाट हाम फालेर भागेका थिए।

लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहान ४ः२५ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।। मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यस्तै, शुक्रबार नै प्रहरीले अर्का एक फरार अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ। विराटनगर–३ स्थित बाल सुधारगृहबाट गत कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका पक्राउ परेका हुन्।

मोरङको उर्लाबारी–६ घर भएका उनलाई हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–४ कञ्चनबारी नजिकैबाट बिहान १ः१५ बजे पक्राउ गरेको हो।

कात्तिक २० गते सुधारगृहको क्षमताभन्दा बढी कोचिएका बन्दीहरूमध्ये ७ जना प्रहरीमाथि आक्रमण गरी फरार भएका थिए। डीएसपी चुँडालका अनुसार हालसम्म भागेका ७ मध्ये ३ जना पक्राउ परिसकेका छन् भने ४ जना अझै फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।