लोड हुँदैछ...

मेनु

नेपाल प्रहरीमा इन्सपेक्टर र असईका लागि भर्ना खुल्यो, ४५९ जनाको माग

नेपाल प्रहरीमा इन्सपेक्टर र असईका लागि भर्ना खुल्यो, ४५९ जनाको माग

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै ठूलो सङ्ख्यामा आवेदन खुलाएको हो ।

जारी सूचना अनुसार प्रहरी निरीक्षक (जनपद) तर्फ २१ जना र प्रहरी सहायक निरीक्षक (जनपद) तर्फ ४३८ जना गरी कुल ४५९ पदका लागि दरखास्त आह्वान गरिएको छ ।

इच्छुक र योग्य उम्मेदवारहरूले इन्सपेक्टर पदका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, असई पदका लागि भने पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ । आवेदन फाराम नेपाल प्रहरीको अनलाइन प्रणालीमार्फत भर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि दरखास्त दस्तुर १ हजार २ सय रुपैयाँ तोकिएको छ । यदि समावेशी समूहमा पनि आवेदन दिने हो भने प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ ।
यस्तै, प्रहरी सहायक निरीक्षक (असई) तर्फ ५०० रुपैयाँ दस्तुर लाग्नेछ भने एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

इन्सपेक्टर पदका लागि आवेदन दिने उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा दरखास्त दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, असई पदका लागि प्रमाणपत्र तह (प्लस टु) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । असईका उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।