विराटनगर । मोरङको लेटाङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा विकास निर्माणको तुलनामा प्रशासनिक तथा चालु खर्च अत्याधिक गरेको पाइएको छ । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकमा प्रस्तुत गरिएको आय–व्यय विवरण अनुसार, नगरपालिकाले ९ करोड भन्दा बढी चालु खर्च गर्दा पुँजीगत (विकास) खर्च भने केवल एक करोड रुपियाँमा सीमित भएको हो।
मंसिर ८ गते बसेको नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको समीक्षा गरेको थियो। समीक्षा अनुसार नगरपालिकाको कुल आय प्राप्ति २० करोड ७५ लाख ७७ हजार ४६१ रुपियाँ रहेको छ। सोही अवधिमा कुल व्यय १० करोड २३ लाख २९ हजार ११० रुपियाँ भएको छ ।
तथ्याङ्कलाई केलाउँदा चालु खर्च तर्फ ९ करोड ७ लाख ६८ हजार ६१८ रुपियाँ सकिएको छ भने पुँजीगत खर्च तर्फ जम्मा १ करोड १५ लाख ६० हजार ४९२ रुपियाँ मात्र खर्च भएको देखिन्छ । यसले आर्थिक वर्षको सुरुवाती चार महिनामा विकास निर्माणका कामले गति लिन नसकेको तर प्रशासनिक खर्च भने उच्च रहेको स्पष्ट पार्छ ।
कार्यपालिका बैठकले खर्चको समीक्षाबाहेक अन्य जनसरोकारका महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । अघिल्लो वर्ष वितरण गरिएको स्यानेटरी प्याडको गुणस्तरमा गुनासो आएको भन्दै बैठकले यस वर्ष गुणस्तरीय प्याड खरिद गर्ने निर्णय गरेको छ । विद्यालयका छात्राहरूलाई निःशुल्क वितरण गरिने प्याडका लागि १० लाख रुपियाँको सीमाभित्र रही सोझै खरिद प्रक्रियाबाट गुणस्तरीय सामान ल्याउन निर्देशन दिइएको छ ।
त्यस्तै, वडा नं. ७ स्थित समलाडाँडाको ुसमला पदमार्गु निर्माणका लागि विनियोजित १० लाख रुपियाँको काम उपभोक्ता समितिमार्फत गराउने निर्णय भएको छ। स्थानीय जनसहभागिता र सिपयुक्त जनशक्ति उपलब्ध भएकोले उक्त योजना उपभोक्ता समितिबाट सञ्चालन गरिने भएको हो । बैठकले झण्डै तीन दर्जन विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय लिएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।