विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख ( डिआइजी) विनोद घिमिरेले ‘जेनजी आन्दोलन’का नाममा भएका तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिआइजी घिमिरेले गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कानुन हातमा लिनेहरूमाथि कारबाही प्रक्रिया अघि बढ्ने बताए । आन्दोलनमा सहभागी हुनु र आन्दोलनको फाइदा उठाएर प्रहरीमाथि आक्रमण गर्नु वा सरकारी सम्पत्ति तोडफोड गर्नु फरक विषय भएको उनको भनाइ छ ।
“आन्दोलन वा ‘मुभमेन्ट’को फाइदा उठाउने आपराधिक तत्वहरू हुन्छन्, जो प्रहरीको विरुद्धमा जहिले पनि सक्रिय रहन्छन् । तिनीहरूले सधैं मौकाको खोजी गरिरहेका हुन्छन्,” डिआइजी घिमिरेले भने, “त्यस्ता आपराधिक तत्वलाई कानुन बमोजिम कारबाही हुन्छ, यसमा प्रहरीले कुनै सम्झौता गर्दैन ।” आन्दोलनको बहानामा हुने आपराधिक क्रियाकलापलाई राजनीतिक लेप लगाएर चोख्याउन नसकिने संकेत गर्दै उनले दोषीहरू कानुनी दायरामा आउने जिकिर गरे ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै डिआइजी घिमिरेले प्रहरी संगठन निष्पक्ष र भयरहित वातावरण बनाउन कटिबद्ध रहेको बताए । उनले निर्वाचन सुरक्षामा खटिने प्रहरीले कुनै नेता वा पहुँचवालाको अनुहार नहेरी केवल संविधान र कानुनको पालना गर्ने बताए ।
“फिल्डमा खटिएको प्रहरीले देशको विधि, कानुन र संविधानलाई मात्र चिन्छ,” उनले भने, “देशमा को के छ र कति ठूलो मान्छे छ भन्ने कुराले प्रहरीको कार्यसम्पादनमा फरक पार्दैन । प्रहरीले कानुनसम्मत काम गर्छ, कानुन कार्यान्वयन गर्नलाई कोही आए पनि हामीलाई मतलब हुँदैन ।” उनले कुनै पनि दलीय दबाबमा नपरी व्यावसायिक धर्म निर्वाह गर्न मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताए ।
सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताउँदै डिआइजी घिमिरेले बरामद सामानको गणना प्रक्रियामा भने प्रश्न उठाए । प्रहरीले सुराकीको आधारमा दुख गरेर समातेको सामान राजस्व कार्यालयमा बुझाएपछि त्यहाँ सामान खोल्दा र गणना गर्दा प्रहरीको प्रतिनिधित्व नहुने परिपाटी सुधार हुनुपर्ने उनको तर्क छ । “हामीले ट्रक समातेर राजस्व पठाउँछौं, तर त्यहाँ भित्र के छ र कति छ भनेर खोल्दा हाम्रो प्रतिनिधि पनि अनिवार्य हुनुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भने ।
शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सही र समयमै सूचनाको आवश्यकता पर्ने भन्दै उनले सञ्चारकर्मीहरूसँग सहकार्यको अपेक्षा समेत गरे । गृह मन्त्रालयको गत मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका घिमिरेले मंसिर ११ गतेदेखि कार्यभार सम्हालेका हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।