विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएलं) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्ससमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रनको योगफल बनायो ।
लुम्बिनीका लागि डार्सी सर्ट शीर्ष स्कोरर रहे । उनले ४१ बलमा चार चौका र एक छक्कासहित ४५ रन बनाए । कप्तान रोहित पौडेलले ३० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन जोडे भने निरोसन डिकवेल्लाले पनि २२ बलमा चार चौकासहित २९ रन जोडे ।
राम्रो सुरुआत पाए पनि मध्यक्रमपछि लुम्बिनी ठूलो स्कोर बनाउन असफल भयो । १३.५ ओभरमा ९७–३ को अवस्थामा रहेकाले उत्कृष्ट स्कोरको सम्भावना रहेकोमा लगातार विकेट पतन हुँदा लुम्बिनीमाथि दबाब बढेको थियो । १४.५ ओभरपछि १३ बलमा सात रन मात्र जोड्दै तीन विकेट गुमाएको लुम्बिनी अन्त्यतिर रन गति कायम राख्न सकेन।
दिनेश अधिकारी एक रनमै आउट भए भने सन्दीप जोरा, जेजे स्मिथ र दिलीप नाथ शून्यमै फर्किए । शेर मल्लले ७ रन जोड्दा रुवेन ट्रम्पलम्यान ११ रनमा नटआउट रहे ।
विराटनगरका सुवास भण्डारी उत्कृष्ट बलिङ प्रदर्शन गर्दै तीन विकेट लिए र केवल १४ रन खर्चिए । प्रतिश जिसीले चार ओभरमा २६ रन दिएर तीन विकेट थपे । सन्दीप लामिछानेले पनि चार ओभरमा १८ रन खर्चेर दुई विकेट हात पारे ।
विराटनगर किंग्सले अब फाइनल पुग्न लक्ष्य पछ्याउनेछ । यो खेलका विजेता शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्तमा उत्रिनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।