विराटनगर । कोशी प्रदेश अन्तर्गत सुनसरीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका स्तम्भहरूको मर्मत तथा रंगरोगनको काम सुरु भएको छ।
सन् २०१४ तिर निर्माण तथा मर्मत गरिएका स्तम्भ समयक्रममा क्षतिग्रस्त भएपछि दुवै देशका सुरक्षातर्फका संयोजनमा मर्मतको काम अघि बढाइएको हो।
सुनसरीको सीमाक्षेत्रका विभिन्न बिन्दुमा नेपाली र भारतीय सुरक्षा अधिकारीहरूको उपस्थितिमा स्थलगत अवलोकनसहित रंगरोगनको कार्य प्रारम्भ गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार भारतीय पक्षले जोर नम्बरका स्तम्भ तथा नेपाली पक्षले बिजोर नम्बरका स्तम्भको मर्मत तथा रंगरोगन गर्ने सहमति अनुसार काम सुरु भएको हो ।
सुनसरीको ६१.९ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सो क्षेत्रमा कुल २८७ वटा सीमा स्तम्भ छन् । तीमध्ये १३१ वटा जोर नम्बरका स्तम्भमध्ये भारतीय पक्षले अहिलेसम्म ८१ वटा स्तम्भको मर्मत तथा रंगरोगन सम्पन्न गरिसकेको छ । नेपाली पक्षले कोशी गाउँपालिका–८ बाट बिजोर नम्बरका १३३ वटा स्तम्भको काम सुरु गरेको छ ।
मर्मत र रंगरोगनको काम गर्न तीन साता लाग्ने सशस्त्र प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।