लोड हुँदैछ...

मेनु

झुम्का कारागारबाट फरार कुख्यात अपराधी पप्पु सिंह विराटनगरमा पक्राउ

झुम्का कारागारबाट फरार कुख्यात अपराधी पप्पु सिंह विराटनगरमा पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि फरार भएका कुख्यात अपराधी पप्पु सिंह उर्फ पप्पुकुमार यादव विराटनगरमा पक्राउ परेका छन्।

मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगर–१८ भेडियारी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार असई धनप्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले दिउँसो ३:४० बजे यादवलाई समातेको हो। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का २९ वर्षीय यादव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई झुम्का कारागारमा २४ वर्ष ८ महिना १५ दिनकै कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते उनलाई दोषी ठहर गरेको थियो।

अदालतको फैसाला कार्यान्वयनका क्रममा कारागार पठाइएका यादव गत भदौ २४ गते जेनजी आन्दोलनको भिड र उत्तेजना बीचको मौका छोपेर फरार भएका थिए। फरारपछि उनी विराटनगर आसपासका क्षेत्रमा लुकेर बसेको प्रहरीले जनाएको छ। लामो निगरानी र विशेष सुराकीका आधारमा प्रहरीले उनलाई समात्न सफल भएको हो।

उनलाई अहिले इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। यादवलाई सुनसरी प्रहरीले गत असार १७ गते इनरुवा नगरपालिका–३ बाट पक्राउ गरेको थियो। सजाय भुक्तान गर्न कारागार चलान गरिएका उनले जेनजी आन्दोलनको गडबडीलाई उपयोग गर्दै फरार भएका थिए।

विगतमा समेत विभिन्न अपराधमा संलग्नता रहेको भन्दै प्रहरीले यादवलाई ‘कुख्यात अपराधी’का रूपमा पहिचान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।