विराटनगर । मोरङको रंगेली नगरपालिका–८ मा प्रहरीले बुधबार राति ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
खेतको बीचभागमा परालले छोपेर लुकाइराखिएको अवस्थामा भेटिएको गाँजाको तौल ९ सय २१ किलो ६६ ग्राम रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा विशेष सूचनाका आधारमा राति ९ बजे ‘सर्च अपरेशन’ सञ्चालन गरिएको थियो। रंगेलीस्थित विद्युत कार्यालयदेखि करिब २ सय मिटर पश्चिमतर्फ पर्ने सुरेशमान श्रेष्ठको खेतमा रहेको डुम्रीको रुखमुनि २९ वटा बोरामा प्याक गरी परालले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा पुगेको टोलीले पराल हटाएपछि गाँजाले भरिएका बोराहरू देखिएका थिए। बरामद भएको सबै गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको डीएसपी चौधरीले बताए।
गाँजा कसले ल्याएर खेतमा लुकाएर राखेको हो भन्नेबारे यकिन भइसकेको छैन। धनकुटालगायत पूर्वी पहाडी क्षेत्रबाट उत्पादन हुने गाँजालाई भारततर्फ पुर्याउने उद्देश्यले खेतमा अस्थायी रूपमा भण्डारण गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
प्रहरीले सम्भावित संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी तीव्र पारेको जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।