विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलको मोबाइलमा घण्टी नबजेको सायदै कुनै दिन होला । उताबाट आउने आवाजमा प्रायः पीडा, हतारो र आपत झल्किन्छ— “सर, शव वाहन चाहियो, आपत पर्यो ।” दुई वर्षअघिसम्म उहाँको जवाफ ‘हुन्छ, पठाइहाल्छौँ’ भन्ने हुन्थ्यो । तर, विगत केही महिनायता पौडेलको जवाफ फेरिएको छ । उनी विवश हुँदै भन्छन्, “माफ गर्नुहोला, आन्दोलनमा गाडी जल्यो, अहिले हामीसँग शव वाहन सेवा छैन ।”
यो संवाद केवल एक प्रहरी निरीक्षक र सेवाग्राही बीचको कुराकानी मात्र होइन, यो अहिले सिङ्गो विराटनगरवासीले भोगिरहेको सास्तीको नियति हो । करिब दुई वर्षसम्म नगरवासीको दुःखको साथी बनेको महानगरको निःशुल्क शव वाहन सेवा खरानीमा परिणत भएपछि नागरिक उक्त सुविधाबाट बञ्चित हुनुपरेको छ । केही समयअघि भएको ‘जेनजी आन्दोलन’का क्रममा महानगरको एक मात्र शव वाहनमा आगजनी भएपछि विपन्न र मध्यमवर्गीय परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कारका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
महानगर प्रहरी निरीक्षक पौडेलका अनुसार, महानगरको शव वाहन केवल एउटा गाडी मात्र थिएन, त्यो आपतको ‘सहारा’ थियो । “धनीमानीले त जसरी पनि व्यवस्था गर्लान्, तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि त्यो गाडी ठूलो राहत थियो,” पौडेल भन्नुहुन्छ, “अझ प्रहरी केस (दुर्घटना, आत्महत्या) भएका बेला त यसको महत्त्व कति थियो भनेर शब्दमा बयान गर्न सकिँदैन ।”
वास्तवमै, दुर्घटना वा आत्महत्याजस्ता प्रहरी मुचुल्का उठाउनुपर्ने घटनामा निजी एम्बुलेन्स वा अन्य सवारी साधनले शव बोक्न मान्दैनन् । विगतमा यस्तो बेला महानगरको गाडी जुनसुकै समयमा पनि घटनास्थल वा अस्पताल पुग्थ्यो । अहिले एउटा शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजान वा अस्पतालबाट घाटसम्म पु¥याउन घन्टौं कुर्नुपर्ने बाध्यता छ । आफन्त गुमाउनुको पीडामाथि शव वाहन नपाउँदाको छटपटीले मृतकका परिवारलाई थप आहत बनाउने गरेको छ ।
विराटनगरमा शव वाहनको अरु धेरै विकल्प पनि छैन । विराटनगरमा स्मृति घाटसँग एउटा शव वाहन छ, तर त्यो पनि पुरानो भइसकेकोले बारम्बार बिग्रिरहन्छ । अर्कोतर्फ, त्यो व्यावसायिक प्रयोजनको लागि भएकाले सशुल्क छ र कहिलेकाहीँ विराटनगर बाहिर गइदिँदा नगरवासीले चाहेको बेलामा प्रयोग गर्न नपाउने अवस्था नै धेरै हुन्छ । “महानगरको गाडीले घरबाट घाट मात्र होइन, अस्पतालबाट घर र घरबाट घाटसम्मको सेवा निःशुल्क दिन्थ्यो । अहिले त्यो सुविधा खोसिँदा जनताले धेरै दुःख पाएका छन्,” पौडेलले अनुभव सुनाए ।
अभाव खड्किएपछि र जनगुनासो बढ्दै गएपछि विराटनगर महानगरपालिकाले पुनः शव वाहन खरिद गर्ने तयारी थालेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले जनताको अत्यावश्यक सेवालाई ध्यानमा राख्दै नयाँ गाडी खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताएका छन् । ‘शव वाहन खरिद गर्दा भन्सार महशुल छुट हुने र अन्य करहरू पनि नलाग्ने भएकाले ठूलो धनराशि खर्च नहुने भएकोले खरिद गर्नुपर्छ कि भन्ने आवश्यकता बोध भएको छ तर प्रक्रिया नै भने सुरु गरिसकेका छैनौं,” उपप्रमुख कार्कीले भनिन् ।
अहिलेलाई भने जलेको गाडीसँगै नगरवासीको सहज सेवा पाउने अधिकार पनि जलेको अवस्था छ । जबसम्म नयाँ गाडी आउँदैन, तबसम्म राजन पौडेलको फोनमा घन्किने ती कारुणिक कलहरू र उहाँले दिनुपर्ने विवशतापूर्ण जवाफको शृङ्ङ्खला रोकिने अवस्था छैन ।
आगजनीमा परेर महानगरपालिकाको धेरै सवारी साधनहरु जलेर नष्ट भयो । फोहोर बोक्ने टिफर, ट्याक्टर, सडक मर्मत गर्ने लोडर, जेसिबीजस्ता साधनहरु जलेर नष्ट भएको थियो । तर यतिबेला शव वाहनको आवश्यकता भने टड्कारो देखिएको विगतमा शव वाहन व्यवस्थापनको काम गर्दै आउनुभएका पौडेलले बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।