लोड हुँदैछ...

मेनु

हितेन्द्रदेव शाक्यले भने – अढाई महिनाको दुःखद समयपछि न्याय पाएँ

हितेन्द्रदेव शाक्यले भने – अढाई महिनाको दुःखद समयपछि न्याय पाएँ

काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनस्स्थापित हितेन्द्रदेव शाक्यले अढाई महिनाको कष्टकर समयपछि आफूले न्याय पाएको बताएका छन्।

सर्वोच्च अदालतले सोमबार पदमा पुनः बहाली गर्न आदेश दिएपछि बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै शाक्यले अदालतबाट न्याय पाएकोमा खुसी व्यक्त गरेका हुन् । कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेलगत्तै गत असोज ५ गते शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको थियो। सो निर्णयविरुद्ध अदालत गएका उनलाई सर्वोच्चले पुनः साविककै पदमा कामकाज गर्न आदेश दिएको थियो।

पदभार ग्रहण गर्दै शाक्यले विगतको अढाई महिना आफ्नो लागि निकै दुःखद रहेको बताए। ‘अहिले विद्युत् प्राधिकरणको एमडी भएकै कारणले जुन दुर्घटना मैले बेहोर्नुपर्‍यो, त्यो अरू कुनै कारणले थिएन,’ उनले भने, ‘त्यसपछिका दुई–अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएर फर्किएर आएको छु।’

शाक्यले अब आफ्ना कार्यक्रमहरूमा पहिलाभन्दा पनि अझ बढी जोस र लगनशीलतासहित काम गर्ने प्रतिबद्धता जनाए। नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको हकहितलाई सर्वोपरी ठानेर अघि बढ्ने उनको भनाइ छ। ‘पहिला केही कमजोरी भएका रहेछन् भने पनि अब त्यो हुन दिने छैन। अबको साढे तीन वर्ष एउटा निश्चित गोल (लक्ष्य) पूरा गर्नेगरी लाग्नेछु,’ शाक्यले भने।

उनले वर्तमान ऊर्जामन्त्री र आफू दुवै प्राधिकरणकै पृष्ठभूमिबाट आएको भन्दै सहकार्य सहज हुने विश्वास समेत व्यक्त गरे। ‘ऊर्जामन्त्रीज्यू र म दुवै प्राधिकरणका क्याडर हौँ। हामीले यो क्षेत्र एक–एक हिसाबले बुझेका छौँ। चिलिमेदेखि अनुभवहरू भोगेर आएका छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।