काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा सामान्य परिवर्तन देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू–भागमा बादल लाग्नुका साथै चिसो बढ्ने संकेत देखिएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आज तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण ती क्षेत्रमा चिसो अझ बढ्ने देखिएको छ ।
यातायात प्रभावित हुन सक्ने, सावधानी अपनाउन आग्रह
तराई क्षेत्रमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण पारदर्शिता कम भई हवाई तथा स्थल यातायात सेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । यात्रा गर्दा र दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।बिहान र बेलुका चिसो बढ्ने क्रम जारी रहेकाले स्वास्थ्यको ख्याल राख्न र चिसोबाट बच्ने उपायहरू अपनाउन समेत चिकित्सक तथा मौसमविद्हरूले सुझाव दिएका छन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।