लोड हुँदैछ...

मेनु

भोजपुरको लेगुवाघाटस्थित अवैध क्रसर उद्योग बन्द

भोजपुरको लेगुवाघाटस्थित अवैध क्रसर उद्योग बन्द

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योगलाई जिल्ला अनुगमन समितिले बन्द गराएको छ ।

कुनैपनि कानुनी प्रक्रिया पूरा नगरी लामो समयदेखि सञ्चालनमा रहेको उक्त उद्योगले प्राकृतिक स्रोतको अवैध दोहन गर्दै आएको पाइएको छ।

जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङका अनुसार स्थलगत अनुगमनका क्रममा उद्योगले अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको पुष्टि भएपछि तत्कालका लागि सञ्चालनमा रोक लगाइएको हो। जिल्लाका सबै क्रसर उद्योगको अनुगमन गरिरहेको उनले बताए ।

‘कानुनविपरीत सञ्चालनमा रहेका उद्योगलाई कानुनी दायरामा ल्याउनका लागि बन्द गराउँदै आएका छौँ’ उनले भने, ‘लेगुवाघाटस्थित क्रसर उद्योग पनि यही क्रममा बन्द गरिएको हो।’ अनुगमन समितिको अनुसार उक्त उद्योग (ढुङ्गा, गिट्टी, बालुवा उत्खनन–बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७) विपरीत सञ्चालनमा थियो ।

कानुन अनुसार पक्की पुलबाट ५०० मिटर, सडकबाट २०० मिटर र हाइटेन्सन लाइनबाट १०० मिटर टाढा मात्रै क्रसर सञ्चालन गर्न मिल्ने भए पनि लेगुवाघाटको क्रसरले यी कुनै पनि नियम पालना गरेको थिएन। उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दूरीमा सञ्चालनमा रहेको समितिको रिपोर्टमा उल्लेख छ।

क्रसर बस्ती र बजार क्षेत्र (लेगुवा बजार तथा धनकुटाको राम बजार) भन्दा ३५० मिटरभित्र रहेको पाइएको छ, जुन कानुनी मापदण्डविपरीत हो। मध्यपहाडी राजमार्ग नजिकै २०७२ माघदेखि अवैध रूपमै सञ्चालनमा रहेको यो क्रसर उद्योगलाई बन्द गरिएपछि पुनः सञ्चालनका लागि विभिन्न व्यक्ति तथा समूहले दबाब दिइरहेको पनि समितिले जनाएको छ।

जिल्ला अनुगमन समितिले आवश्यक प्रक्रिया पूरा नगरेसम्म उद्योग पुनः सञ्चालनमा नआउने स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।