लोड हुँदैछ...

मेनु

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

संखुवासभा । संखुवासभाको सिलीचोङ गाउँपालिकाले जाडोयामको कठ्यांग्रिने मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिंदै घरदैलो निःशुल्क उपचार सेवा सुरु गरेको छ ।

जाडोले जोखिम बढाउने भएकाले गाउँपालिकाभित्रका ७५ वर्षमाथिका सबै नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा पुर्‍याउने अभियान सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार ४३९ जना ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मी र जनप्रतिनिधि घर–घर पुगेका छन् । उनीहरूले रक्तचाप, सुगर जाँच, नियमित स्वास्थ्य परीक्षण लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

साथै जाडोबाट बच्नका लागि तातोपानी तताउने विद्युतीय ‘जग’ समेत निःशुल्क वितरण गरिएको छ। यससँगै ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सामान्य औषधि निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

जाडोयाममा निमोनिया, रक्तचाप असन्तुलन, जोर्नी दुखाइ लगायतका समस्या बढ्ने भएकाले यो सेवा अत्यन्त आवश्यक रहेको गाउँपालिकाको भनाइ छ। अध्यक्ष मेवाहाङले कार्यक्रमलाई वार्षिक कार्ययोजना अनुरूप आगामी वर्षमा पनि निरन्तरता दिइने बताउँदै ज्येष्ठ नागरिकमैत्री सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।