विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल सुरु नहुने भएको छ। प्रदेशसभा भवन र सचिवालयको अभाव देखाइए पनि अधिवेशन लम्बिनुको मुख्य कारण भने सत्ता साझेदार दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन रहेको बताउन थालिएको छ ।
प्रदेशसभा भवन आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि अस्थायी संरचना निर्माणमा ढिलाइ भइरहेको छ। तर, सरकार र संसद सचिवालयले चाहेमा अस्थायी टहरा वा टेन्टमै बसेर पनि संसद चलाउन सकिने विकल्प हुँदाहुँदै दलहरूको आन्तरिक राजनीतिका कारण अधिवेशन माघ महिनासम्म धकेलिने निश्चित भएको हो।
सभामुख अम्बरबहादुर विष्टले नै दलहरूको महाधिवेशन र व्यस्तताका कारण तत्काल बैठक बस्न नसकिने बताएका छन् । उनले भवन वा कुर्सीको अभाव प्राविधिक पाटो भए पनि राजनीतिक कारण नै मुख्य बाधक रहेको संकेत गरे।
‘अहिले दुईटा ठूला दलको महाधिबेशन तोकिएको छ, उहाँहरू व्यस्त हुनुहुन्छ,’ सभामुख विष्टले भने, ‘दुइटै सत्तासीन दलहरू भएपछि उहाँहरूको अनुकूल नमिलिकन बैठक हुँदैन। एमालेको महाअधिवेशन मंसिरमै २७ देखी छ भने कांग्रेसको पुषमा छ । त्यसैले हिउँदे अधिवेशन माघमा पुग्ने देखिन्छ।’
नेकपा एमालेको कोशी प्रदेश अधिवेशन यही मंसिर २७ गतेदेखि सुरु हुँदैछ। मुख्यमन्त्री हिक्मतकुमार कार्की स्वयं एमालेका नेता भएकाले उनी र उनका मन्त्रीहरू अहिले पार्टीको प्रतिनिधि छनौट र व्यवस्थापनमा व्यस्त छन्। यस्तै, नेपाली कांग्रेस पनि आन्तरिक अधिवेशनको तयारीमा जुटेको छ।
जनताका समस्या समाधान गर्ने र कानुन बनाउने थलो संसदलाई दलहरूले आफ्नो पार्टीको कार्यक्रम तालिका अनुसार चलाउन खोज्दा संसदीय अभ्यास नै ओझेलमा परेको छ। सभामुख विष्टका अनुसार सरकारले अति आवश्यक ठानेको खण्डमा टेन्ट टाँगेरै भए पनि बैठक बसाउन सकिन्थ्यो। तर, नेताहरूको ध्यान पार्टीको पद र प्रतिष्ठा जोगाउने खेलमा केन्द्रित हुँदा संसद अधिवेशन प्राथमिकतामा पर्न सकेन। ‘फास्ट ट्र्याक’ मा संसद भवन मर्मत गर्ने कुरा भए पनि व्यवहारमा काम हुन सकेको छैन। पुसको मध्यसम्ममा डोनर (पीएसपी)ले दिने कुर्सी आउने उनले बताए ।
सरकारले भने महाधिबेशनका कारण ढिलो नभएको बताएको छ । पुनर निर्माणको काम ढिला भएकाले केहि समय पर सरेको प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरीक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।