लोड हुँदैछ...

मेनु

मन्त्रीपरिषदका निर्णय : पत्रकार रजक सहिद घोषणा, पौडेल सचिवमा बढुवा, उखुको मूल्य तोकियो

मन्त्रीपरिषदका निर्णय : पत्रकार रजक सहिद घोषणा, पौडेल सचिवमा बढुवा, उखुको मूल्य तोकियो

विराटनगर । संघीय सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

त्यसैगरि मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । सञ्चारमन्त्री जगदीश खरेका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ । त्यसमा ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।