लोड हुँदैछ...

मेनु

तीन वर्षमा ७५ एचआईभी संक्रमितको मृत्यु

तीन वर्षमा ७५ एचआईभी संक्रमितको मृत्यु

विर्तामोड । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।

झापामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालयका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७९–८० मा १७ जना, २०८०–८१ मा २३ जना र २०८१–८२ मा ३५ जनाको मृत्यु भएको हो । उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य रहेपनि मृत्युदर बढेको उनको भनाइ छ ।

जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् ।

झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना एक–एक हजारको दरले सहयोग प्रदान गर्ने गरिएको छ । यस्तै, नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।

झापामा आव २०७९–८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०–८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१–८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।