विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या ‘सुपारी ’ रकम दिएर गराइएको रहस्य खुलेको छ। ४५ वर्षीय चौधरीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र सुटरसहित ७ जनालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो।
प्रहरीको अनुसन्धानबाट खुलेअनुसार हत्याको मुख्य कारण व्यक्तिगत रिसइबी र अन्धविश्वास देखिएको छ। पक्राउ परेका मुख्य योजनाकार झुम्काका राजेश भन्ने राजकिशोर साहले चौधरीको हत्या गर्नका लागि साढे ६ लाख रुपैयाँको ‘सुपारी’ दिएको पाइएको छ।
हत्याको योजनाकार राजकिशोर साहले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मियासँग हत्याको सौदाबाजी गरेका थिए। साहले ६ लाख ५० हजार रुपैयाँ दिने सर्त राखेपछि मिया हत्या गर्न तयार भएका थिए।
घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार हत्या गर्नुअघि सुटर मियाले ३ लाख रुपैयाँ एडभान्स (पेश्की) बुझेका थिए। बाँकी रकम काम तमाम गरेपछि दिने सहमति भएको थियो। सोही योजना अनुरुप गत असोज २५ गते साँझ मियाले चौधरीमाथि गोली प्रहार गरेका थिए।
तन्त्रमन्त्रको आरोपमा दाजुभाइले बुने हत्याको योजना
प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार राजकिशोर साह र नन्दकिशोर साह दाजुभाइ हुन्। मृतक चौधरीले तन्त्रमन्त्र टुनामुना गरी लामो समयदेखि आफ्नो परिवारका सदस्यहरूलाई बिरामी बनाएको र दुःख हैरानी दिएको आरोप साह दाजुभाइको छ।
यही रिसइबी साध्न उनीहरूले पेसेवर अपराधी प्रयोग गरी चौधरीलाई सिध्याउने योजना बनाएको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र बहादुर खड्काले जानकारी दिए।
गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका चौधरीमाथि गोली प्रहार भएको थियो। लामो समयको सुक्ष्म अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका १ झुम्काका राजु भन्ने राजकिशोर साह, न्दकिशोर साह, सप्तरी राजविराजको अंकित साह, प्रिन्स कुमार दास, देवानगन्जका गियास मन्सुरी र मिथलेश यादव रहेका छन् ।
पक्राउ परेकाहरूलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।