विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसंस्थाहरू र पालिकाहरूको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन मानिसलाई स्वस्थ बनाउने उद्देश्य लिएर सामाजिक उत्तरदायित्व अन्तर्गत दक्ष गुरुबाट योग प्रशिक्षण दिलाई योग प्रशिक्षक उत्पादनमा सहयोग गरेको विश्वविद्यालयका तालिम संयोजक विकास राईले बताए ।
संयोजक राईका अनुसार २० मंसिरमा झापाको दमकस्थित ८ नम्बर वडा कार्यालयको आयोजनामा विश्वविद्यालयका उपकुलपति डाक्टर सुवासश्री पोखरेलले ४५ दिने योग प्रशिक्षणको उद्घाटन गरेका छन् । ५० जना सहभागी उक्त प्रशिक्षण शिविरमा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई, वडा नं. ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल र स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूले सहभागिता जनाएका थिए ।
यसैगरी, पाँच महिनाअघि मोरङको उर्लाबारीमा स्थानीय ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा योग प्रशिक्षण शिविर सञ्चालन गरेर विश्वविद्यालयले ४४ जना योग प्रशिक्षक उत्पादन गरेको थियो ।
विश्वविद्यालयले दक्ष योग गुरुबाट तीन चरणको योग प्रशिक्षण दिएर प्रशिक्षकहरू उत्पादन गराउँछ। योग शिविरमा प्रशिक्षण दिने गुरु र उत्पादन भएका प्रशिक्षकहरूले प्रशिक्षण दिएको एक वर्षसम्मको खर्च विश्वविद्यालयले बेहोर्छ ।
कोशी प्रदेशका गाउँगाउँसम्म योग प्रशिक्षकहरूलाई पुर्याएर मानिसलाई स्वस्थ बनाउने मनमोहन विश्वविद्यालयको लक्ष्य रहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ मार्फत चाँडै प्राकृतिक चिकित्सा सम्बन्धी उच्च शिक्षाको पठनपाठन पनि सञ्चालन गराउने तयारी गरिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।