लोड हुँदैछ...

मेनु

अंशु हत्या प्रकरण : आरोपीको घरमा तोडफोडको प्रयास, डिएसपीको नेतृत्वमा सुरक्षा तैनाथ

अंशु हत्या प्रकरण : आरोपीको घरमा तोडफोडको प्रयास, डिएसपीको नेतृत्वमा सुरक्षा तैनाथ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा पक्राउ परेका छिमेकीको घरमा स्थानीयले तोडफोडको प्रयास गरेका छन्। प्रहरीले ५९ वर्षीय पदमबहादुर अधिकारीलाई सार्वजनिक गरेलगत्तै आक्रोशित स्थानीय भिडले आइतबार साँझ उनको घरमा आक्रमणको प्रयास गरेको हो।

स्थिति तनावपूर्ण बन्न नदिन इलाका प्रहरी कार्यालय पथरीका डिएसपी तुलसीराम अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले अहिले आरोपी अधिकारीको घरमा सुरक्षा दिइरहेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले आरोपीको घरमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। ‘हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेपछि आक्रोशित बनेको भिडले अधिकारीको घरमा तोडफोड गर्न खोजेको थियो,’ एसपी कट्वालले भने, ‘अहिले डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै त्यस क्षेत्रमा थप सुरक्षा फौज पनि परिचालन गरिएको छ।’

मोरङ प्रहरीले घटनाको करिब दुई महिना लामो गहन अनुसन्धानपछि बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै आरोपी अधिकारीलाई आजै दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।
गत असोज २१ गते घरबाटै हराएकी बालिकाको शव १८ दिनपछि कात्तिक ७ गते घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीमा क्षतविक्षत अवस्थामा कंकालको रूपमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।