विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ ।
विषसहितको खाना खाएका ७० वर्षीय भक्तबहादुर राईको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी श्रीमती इन्द्रमाया राई समेत बेहोस भेटिएकी थिइन्।
बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको छ।
प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको छ। घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशङ्का गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ। पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले जनाएको छ। बट्टा जलेको अवस्थामा बरामद गरिएको छ।
घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले जनाएको छ । प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ।
वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा घटनाको योजना भएको हो । घटनाको कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ ।
घटनापछि स्थानीय तहमा सनसनी फैलिएपछि स्थानियवासीले निष्पक्ष र व्यापक रुपमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। प्रहरी टोली इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा थप तथ्यांक संकलन गरी घटनास्थल र सम्बन्धित वस्तु–सामग्री परीक्षण गरिरहेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।