विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका ५९ वर्षीय पदमबहादुर अधिकारी नेपाली समाजलाई नै स्तब्ध बनाउने पात्र बनेका छन्।
डेढ महिनादेखि अनुसन्धानको केन्द्रमा रहेका अधिकारीकै विरोधाभासी गतिविधि, भारत पलायन, परिवारसँगको तिक्त सम्बन्ध र घटनास्थलमा भेटिएका प्रमाणले अन्ततः उनी प्रहरीको फन्दामा परेका छन् ।
अधिकारी सामान्य कृषक परिवारका हुन्। स्थानीयका अनुसार परिवारसँग विशेष मेलमिलाप नभए पनि छरछिमेकसँग उनी कहिलेकाहीँ खुल्ने गर्थे। उनी अंशुका परिवारसँग खासै राम्रो सम्बन्ध नरहेको व्यक्तिका रूपमा चिनिन्थे । बुवा–आमा बीच बोलचाल नभए पनि छोराछोरीबीच भने सामान्य संवाद थियो, जसका कारण अंशु अधिकारीको घर आउने जाने गर्थिन् ।
अधिकारीले बेलाबेला उनको हातमा मोबाइल चलाउन दिने गरेको पनि खुलेको छ। असोज २१ गते दिउँसो घरमा लागेको सामान्य गालीपछि अंशु रिसाएर बाहिर निस्केकी थिइन्। उनी स्थानीय अर्की बालिकासँग खेल्दै थिइन् । अधिकारीले ति बालिकालाई पाँच रुपैयाँ दिएर टाढा पठाएपछि एक्लिएकी अंशुलाई जंगल जान प्रलोभन देखाएका थिए ।
प्रहरीका अनुसार जंगलको मुखमा भेट्ने सल्लाहसहित अधिकारी साइकल लिएर पुगे । अंशुलाई पछाडि राखे र करिब साढे चार किलोमिटर भित्र रहेको सुनसान ठाउँमा लगे । प्रहरी अनुसन्धानअनुसार त्यहाँ अधिकारीले पहिले जबरजस्ती करणीको प्रयास गरेका थिए । बालिकाले प्रतिरोध गरेपछि उनले बालिकाको घाँटी थिचे । मृत्यु निस्चित नहुँदा उनले हँसियाले रेटेर हत्या गरे र शवलाई त्यहीँ छाडेर घाँस बोकेर घर फर्किए।
हत्या गरेपछि शंका नपरोस् भनेर उनी सक्रिय रूपमा अंशुको खोजीमा सहभागी भए । परिवारसँगै उभिएर ‘म पनि छोरीजस्तै खोज्छु’ भन्दै गाउँभरी हिँडे । प्रहरीमा बयान दिए, खोजी टोलीसँगै जंगल जाने नाटकसमेत गरे । शव फेला पर्दा पनि उनी गाउँलेसँगै घटनास्थलमा उपस्थि थिए ।
प्रारम्भिक दिनहरूमा अधिकारीमाथि प्रहरीको शंका नै थिएन । तर, घटनाको डेढ महिना नबित्दै अनुसन्धानले मोड फेर्यो । जबरजस्ती करणी मुद्दामा कैद काटिरहेका अधिकारीका छोरा कात्तिक १८ मा जेलमुक्त भएका थिए । छोरा घर फर्केको भोलिपल्टै उनले कसैलाई केही नबताई भारत हिँडेको खुल्यो ।
भारततर्फ उनी जानु नै प्रहरीका लागि घटना अनुसन्धानको सबैभन्दा ठूलो ‘क्लु’ बन्यो । छोरालाई घर रेखदेखको जिम्मा लगाएर भारत जानु, फोन बन्द गर्नु र अचानक सम्पर्कविहीन हुनु प्रहरीले गम्भीररूपमा लियो।
प्रहरीले सिधै सम्पर्क गर्दा नआउने भएपछि आफन्त र छिमेकीमार्फत बोलाउने रणनीति अपनायो । ‘अंशुको हत्यारा पत्ता लगाउन तपाईं आउनु पर्यो’ भन्ने आग्रहपछि अधिकारी नेपाल फर्किए । फर्केको दिनमै उनलाई नियन्त्रणमा लिइयो।
सोधपुछको शुरुआती चरणमा उनले इन्कार गरे थिए । तर, भारतमा गाई दुहुने क्रममा बाल्टिमा ‘रगत देखेझैँ’ लागेको, त्यो क्षणले आफूले अंशुको हत्या गरेको दृश्य सम्झेर मानसिक तनाव भएको उनले स्वीकार गरे ।
अहिले उनले अपराध स्वीकारेको प्रहरीको दाबी छ।
अधिकारीले यौनइच्छा पूरा नहुँदा पर्ने आवेश, अंशुका बुबाआमासँगको पुरानो रिसइबी र तत्कालको क्रोधका कारण अंशुको विभत्स हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट यौन उत्तेजक औषधि बारेको जानकारी, पछिल्ला गतिविधि र घटनास्थल नजिकै फेला परेका कपडाले पनि उनीमाथिको शंका बलियो बनाएको प्रहरीले जनाएको छ। घटनास्थलमा अंशुका सबै लुगा एकै ठाउँमा फेला परेकाले बलात्कारपछि हत्या भएको स्पष्ट संकेत मिलेको अनुसन्धानले देखाएको छ।
अंशुको हत्या प्रकरण उजागर गर्न मोरङ प्रहरीले मात्रै ३ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यो । १६ जनाको ‘पोलिग्राफ टेस्ट’ भयो। घाँस काट्न जंगल जाने व्यक्तिहरूको छुट्टै अभिलेख बनाइयो। विद्यालयका साथीदेखि शिक्षकसम्म सबैलाई अनुसन्धानको घेरामा ल्याइयो। ‘अपरेशन जग’ नाम दिइएको यो अनुसन्धानमा मोरङ प्रहरी, प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका ३० जनाभन्दा बढी अनुसन्धान अधिकृत लगातार संलग्न रहे ।
अहिले अधिकारीमाथि ज्यान मुद्दा, जबरजस्ती करणी र बालबालिका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट ७ दिनको थप म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अंशुको परिवारले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएपछि ४५ दिनदेखि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।