लोड हुँदैछ...

मेनु

अंशु हत्या प्रकरण : शव भेटिएको ९ दिनपछि भारत भागेका थिए छिमेकी

अंशु हत्या प्रकरण : शव भेटिएको ९ दिनपछि भारत भागेका थिए छिमेकी

विराटनगर । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको नृशंस हत्या प्रकरणमा प्रहरीले अन्ततः मुख्य आरोपीलाई कानुनको कठघरामा उभ्याएको छ। स्कुलमा खेल्न जाने भन्दै घरबाट निस्किएकी अबोध बालिकाको हत्या अभियोगमा छिमेकी ५० वर्षीय पदम अधिकारी पक्राउ परेका छन्।

यो घटनाको अनुसन्धानमा सबैभन्दा शंकास्पद र निर्णायक मोड आरोपी अधिकारीको ‘मुभमेन्ट’ बनेको थियो। लेटाङको जंगलमा अंशुको क्षतविक्षत अवस्था फेला परेको ठीक ९ दिनपछि अधिकारी एक्कासी गाउँ छोडेर भारत पलायन भएका थिए। उनी अचानक फरार भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीको शंका उनीमाथि नै केन्द्रित भएको थियो।

प्रहरीका अनुसार गत कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र अंशुको बीभत्स अवस्था भेटिएको थियो। घटना सार्वजनिक भएको र प्रहरी गाउँमा केन्द्रित भएको ९ औं दिनमा अधिकारी एकाएक बेपत्ता भए।
छिमेकी नै एक्कासी भारत भागेपछि प्रहरीले उनीमाथि सूक्ष्म निगरानी बढाएको थियो। प्रहरी स्रोतका अनुसार भारतमा लुकेर बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीले उनलाई पक्राउ गरेर ल्याएको हो। यद्यपि, प्रहरीले औपचारिक रूपमा भने परिवार र जनप्रतिनिधिको दबाबमा उनलाई झिकाइएको दाबी गरेको छ। उनी एक महिनाभन्दा बढी समय भारतमा लुकेर बसेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले भने, ‘अंशुको अवस्था पत्ता लागेको केही दिनपछि उनी भारत गएका थिए, जसले शंकाको सुई उनीतिर सोझिएको थियो। हामीले उनलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरिरहेका छौं।’असोज २१ गते दिउँसो घरबाट निस्किएकी कक्षा ५ मा अध्ययनरत हँसिली स्वभावकी अंशु १८ दिनसम्म बेपत्ता थिइन्। कात्तिक ७ गते घरबाट साढे चार किलोमिटर टाढाको जंगलमा टाउको र शरीर छुट्टिएको अवस्थामा उनी फेला परेकी थिइन्।

घटनास्थलमा उनले लगाएका ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसन्धानको सुई ‘बलात्कारपछि हत्या’ तर्फ सोझाएको थियो। तथापि प्रहरीले यस विषयमा बालेको छैन् ।
‘हत्याको कारण गहिरो छ, हामी आज नै पत्रकार सम्मेलन गरेर सबै तथ्य सार्वजनिक गर्छौं,’ एसपी कट्वालले भने। घरबाट हराएकै दिन (असोज २१ गते) अंशुको हत्या भएको प्रहरी निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds