धरान । उँधौली पर्वको अवसरमा किरात राई यायोख्खा सुनसरीले शनिवार धरान–१७ साकेला पार्कमा वृहत् भाषिक साकेला–सिली प्रदर्शन गरेको छ।
किरात समुदायको कृषि जीवनशैली, प्रकृतिप्रति आस्था र सामाजिक–धार्मिक संस्कार झल्किने सिली नृत्य यस वर्ष पनि विविध रूपमै प्रस्तुत गरियो।
सकेला सिलीलाई किरात समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक भावनासँग जोडिएको पर्व मानिन्छ। सिली नृत्यमार्फत बीउ छर्ने, बाली काट्ने, शिकार खेल्ने लगायतका गतिविधिहरू प्रतीकात्मक रूपमा अभिव्यक्त गरिन्छन्।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले साकेला पर्व किरात जातिको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको बताए। उनले भने, “साकेला केवल नृत्य र उत्सव मात्र होइन, किरात राई समुदायको सांस्कृतिक इतिहास र सामाजिक एकताको मूल आधार हो।” आधुनिकताका कारण मौलिक परम्परा क्षय हुँदै गएको उल्लेख गर्दै उनले नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि यस्ता पर्व महत्वपूर्ण हुने जनाए।
किरात राई यायोख्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरानका पूर्व नगर प्रमुख तिलक राईले उभौली–उँधौली पर्व किरात राईको प्रकृति–पूजा र जीवनशैलीसँग गहिरोसँग जोडिएको बताए। सिली नृत्यले कृषि, शिकार, बीउ छर्ने र बाली काट्ने कार्यहरूको सांस्कृतिक रूपान्तरण प्रस्तुत गर्ने उल्लेख गर्दै उनले परम्परा संरक्षण कमजोर भए समुदाय नै कमजोर बन्न सक्ने चेतावनी दिए।
धरान–१५ का वडा अध्यक्ष नरेश ईवरामका अनुसार, उभौलीले खेतीपाती सुरु हुने समयलाई जनाउँछ भने उँधौलीले बाली उठाएर उपभोग गर्नुभन्दा अघि प्रकृतिलाई पूजा गर्ने धार्मिक संस्कारलाई प्रतिनिधित्व गर्छ। यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय शाखाका प्रतिनिधिहरू र समुदायका विभिन्न समूहको सहभागिता रहेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।