विराटनगर । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
शनिबार बिहान करिब ८ बजे स्थानीयले पोखरीमा करिब ४५–५० वर्षको महिला डुबेको देखेपछि प्रहरी चौकी मझारेमा खबर गरेका थिए।
सूचना पाएपछि प्रहरी सहायक निरीक्षक शेखर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि थप प्राविधिक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन मोरङ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा अर्को टोली खटाइएको हो।
अनुसन्धानका क्रममा मृतकको परिचय खुलेको प्रहरीले बताएको छ। मृतक जहदा गाउँपालिका–४ का दुलारचन महतोकी ६० वर्षीया श्रीमती डोम्ना महतो रहेको पुष्टि भएको छ।
मृतकको शव आज बिहान १०:४५ बजे कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।