ओखलढुङ्गा । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पर्ने ढेबुवाका स–साना विद्यार्थीहरू दैनिक ‘रबरबोट’ को भरमा सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुंगे पुल गत वर्ष असोजमा आएको बाढीले बगाएपछि ढेबुवा र जेरुङघाटका २६ जना विद्यार्थी जोखिम मोलेर नदी पार गर्दै अध्ययन गर्दै आएका हुन्।
गाउँमा गुणस्तरीय विद्यालय नभएकाले उनीहरूले सिन्धुलीको फिक्कल गाउँपालिकास्थित रत्न गङ्गा मावि र आधारभूत विद्यालय तीनखण्डेमा पढ्दै आएका छन्। पुल बगाएपछि विद्यार्थीहरू महिनौँ पढाइबाट वञ्चित भएका थिए।
गृह मन्त्रालयबाट रबरबोट उपलब्ध गराई स्थानीय तहको व्यवस्थापनमा सञ्चालन गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए। उनले यस्तो अस्थायी र जोखिमपूर्ण व्यवस्थाको दीर्घकालीन समाधानका लागि ढेबुवा–तीनखण्डे जोड्ने पुल निर्माण गर्न आग्रह गर्दै आएका छन्।
उनका अनुसार बिहान ५ बजेदेखि विद्यार्थीहरू नदी किनारमा भेला हुन्छन्। एसईई तयारी गर्ने विद्यार्थीहरू अझ बिहानै आउने गर्छन्। तीनवटा बोटमार्फत उमेरअनुसार पालैपालो नदी पार गराइन्छ। बाढीको जोखिम भएकाले दैनिक मौसमको अवस्थामाथि निर्भर गर्दै विद्यार्थीसहित नदी पार गराइने र दिउँसो बाढी आए विद्यार्थीलाई सिन्धुलीमै बस्नुपर्ने अवस्था समेत आउँछ।
फिक्कल गाउँपालिकाले विद्यार्थी ओसारपसारका लागि सुरुदेखि नै एक कर्मचारी राखेको छ। सुनकोशी गाउँपालिकाले पनि थप एक जनाको तलब दिने आश्वासन दिएको छ। फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले तालिम प्राप्त जनशक्ति राखेर रबरबोट सञ्चालन गरिएकाले विद्यार्थी तथा स्थानीयलाई नदी पार गर्न सहज भएको बताए। तर, पुल निर्माणका प्रक्रिया पूरा भइसके पनि सरकार परिवर्तनसँगै योजना ओझेलमा परेको उनको भनाइ छ।
विद्यार्थीलाई सुरक्षित रूपमा विद्यालय पुर्याउनको लागि फिक्कल गाउँपालिकाले दिवाखाजा र छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए। रबरबोट अस्थायी समाधान भए पनि वर्षासँगै जोखिम दोब्बर हुने भएकाले शिक्षार्थीका अभिभावकले छिटोभन्दा छिटो पुल निर्माणको माग गर्दै आएका छन्।
पुल अभावमा स्थानीय बासिन्दाको दैनिकी पनि समस्याग्रस्त बनेको छ। घरायसी सामान किन्न दूरी धेरै पर्ने, बिरामी तथा वृद्धवृद्धाका हिँडडुलमा समेत कठिनाइ उत्पन्न भएको छ। सुरक्षित पुल निर्माण नभएसम्म विद्यार्थी तथा स्थानीय दैनिकी जोखिममै रहने चिन्ता सर्वत्र व्यक्त भइरहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।