विराटनगर । जेनजी आन्दोलनका क्रममा झापामा भएका तोडफोड, आगजनी र अराजक गतिविधिसम्बन्धी घटनामा संलग्न व्यक्तिहरू जेल चलान भएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न ८ जनालाई अदालतको आदेशपछि जेल पठाइएको छ । झापा जिल्ला अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने धरौटी रकम बुझाउन नसकेकाले थप चार जना पनि कारागार चलान भएका हुन्।
झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार आपराधिक उपद्रव, थुनुवा भगाएको तथा हातहतियारसम्बन्धी मुद्दामा पाँच प्रतिवादीमाथि आदेश जारी भएको छ। पुर्पक्षको लागि थुनामा परेकामध्ये सुनसरी हरिनगर–१ का २२ वर्षीय शाहिद हुसेन अन्सारी, बिर्तामोड–५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड–३ का २१ वर्षीय बादल राजवंशी छन्। बिर्तामोड–५ की २४ वर्षीय पूजा मगर र अर्जुनधारा–७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार धरौटीमा छोड्ने आदेश भएपनि रकम बुझाउन नसकेकाले उनीहरू समेत जेल चलान भएका छन्।
यसअघि बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी, १६ वर्षीय आयुष धिमाल र बिर्तामोड–६ का २४ वर्षीय अनीश मण्डल पनि जेल चलान भइसकेका छन्। नवराज राईमाथि तेहोरो र अनीश मण्डल, शाहिद अन्सारी, पूजा मगर र सुरज राईमाथि दोहोरो अभियोग दर्ता भएको इप्रका अनारमनीका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन्।
जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जनालाई पनि अदालतको आदेशअनुसार पुर्पक्षका लागि जेल चलान गरिएको छ। तीन दिनअघि जारी आदेशअनुसार विभिन्न मितिमा पक्राउ परेकामध्ये पाँचथर, इलाम र झापाका १० भन्दा बढी व्यक्ति कारागार पठाइएका छन्।
तीमध्ये पाँचथर मिक्लाजुङ–५ का २२ वर्षीय साजन लुहागुन, इलाम चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी, दमक–७ का २४ वर्षीय लोमस कटुवाल, गौरव भुजेल, सुशील फियाक, शिव मल्लिक, इलामका दर्शन लिम्बू, गौरादहका सुन्दर गिरी, गौरीगञ्ज–३ का रमेश पासवान र उनका १९ वर्षीय छोरा सोनु पासवान पुर्पक्ष थुनामा परेका छन्। कात्तिक २७ गतेको आदेशअनुसार इलामका सुजल राई, दमक–९ का अरुण रोका र गणेश शर्मा पनि जेल चलान भइसकेका छन्।
दमक क्षेत्रका चार नाबालकलाई अभिभावकको जिम्मामा छोडिएको छ। दमक–९ का ३४ वर्षीय सन्तबहादुर मोते र दमक–८ का ३६ वर्षीय उमेश थापालाई जनही १ लाख ५० हजार धरौटीमा रिहा गरिएको छ । दमक–३ का २१ वर्षीय केदर बस्नेत ३० हजार धरौटी बुझाएर छुटेका छन्।
जिल्लाभर जेनजी आन्दोलनका नाममा आक्रमण, तोडफोड र अराजक गतिविधिमा संलग्न भएको आरोपमा ४६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये २१ जना पुर्पक्षका लागि थुनामा छन भने चार नाबालक अभिभावकको जिम्मामा र तीन जना धरौटीमा रिहा भएका छन् ।
पक्राउ परेकामध्ये सात जना हाजिरी जमानीमा छुटेका छन्। बाँकीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।