लोड हुँदैछ...

मेनु

टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिकाले सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले निर्वाह गरेको भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो ।

नागरिकस्तरमा महिला स्वयंसेविकाहरूले पुर्‍याएको कदरसँगै मनोबल उच्च बनाउने लक्ष्यले नौवटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन्। स्वयंसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

“नागरिक तहमा महिला स्वास्थ्य स्वयंसेविकाले निभाउँदै आएको भूमिका अत्यन्त प्रेरणादायक छ”, उपाध्यक्ष राईले भनिन्, “समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । यसले उनीहरूमा अझ थप ऊर्जा, आत्मविश्वास र सेवा उत्साह वृद्धि हुने अपेक्षा छ ।”

गाउँपालिकाले आगामी वर्षहरूमा स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि तालिम, प्रोत्साहन र नियमित समन्वय कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउने जनाएको छ । बाइसौँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।