विराटनगर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन–२ को प्लेअफमा प्रवेश गरेको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो ।
यससँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स यसअघि नै प्लेअफमा स्थान बनाइसकेका थिए । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिएको थियो।
शुक्रबारको महत्त्वपूर्ण खेलमा जित निकालेसँगै लुम्बिनी लायन्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। लिगको आफ्नो अन्तिम खेलसँगै गत सिजनको साविक विजेता जनकपुर बाहिरिएको छ ।
लिग चरणको खेलमा सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरिसकेको छ। अब शनिबार हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ। विराटनगरका लागि दोस्रो हुन ठूलो अन्तरको जित आवश्यक छ। विराटनगरले सानो अन्तरको जित वा पराजय भोगेमा काठमान्डु दोस्रो हुनेछ। विराटनगर तेस्रो र लुम्बिनी चौथो हुनेछन्।
आजको खेलमा लुम्बिनीले जित हात पारेसँगै शनिबार हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार राति हुने कर्णाली याक्स र जनकपुरबीच हुने खेल औपचारिकतामा सीमित हुनेछ। यी दुई खेलले प्लेअफमा कुनै प्रभाव पार्नेछैन।
अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन्। जित हात पार्ने टोली मंसिर २७ गते हुने फाइनलमा पुग्नेछ। हार्ने टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनलमा पुग्ने अवसर पाउनेछ। तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन्। इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। बिहीबार दोस्रो क्वालिफायर हुनेछ। जित हात पार्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।
शुक्रबारको खेलमा लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले शुक्रबार जनकपुरले दिएको १३३ रनको लक्ष्य ६ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्यो। यसअघि लुम्बिनीले पाँचौँ खेलमा पोखरा र छैटौँ खेलमा विराटनगरलाई पराजित गरेको थियो।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे। रोहित १२औँ ओभरमा मयन यादवबाट एलबिडब्लू आउट हुनुअघि ३२ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
ओपनर सुमित महर्जन गोल्डेन डक आउट भए। उनलाई इनिङको पहिलो बलमा संगिथ कुरेले बोल्ड गरेका थिए। अर्का ओपनर डार्शी सटले ३० रन बनाए। उनी आठौँ ओभरमा कुरेकै एलबिडब्लूको धरापमा परे। सटले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे।
खेलमा रोमाञ्चकता त्यतिबेला बढ्यो जब रोहित आउट भए लगत्तै अर्को बलमा जनकपुरले सन्दीप जोरालाई शून्यमा आउट गर्यो। १२औँ ओभरको पाँचौँ र छैटौँ बलमा मयनले दुवैलाई एलबिडब्लूको धरापमा पारे। त्यही ओभरमा उनले ३ रन मात्र दिँदै २ विकेट लिए।
त्यसपछि निरोशन डिक्वेला र जेजे स्मिटले लुम्बिनीलाई सम्हाले। डिक्वेलाले २४ रनको साझेदारी गरे। उनी १६औँ ओभरमा सञ्जय कृष्णमूर्तिबाट एलबिडब्लू आउट भए। त्यतिबेला लुम्बिनीलाई जितका लागि २५ रन चाहिँदै थियो।
जेजे स्मिट २१ रन बनाएर १८औँ ओभरको पाँचौँ बलमा कृष्णमूर्तिको बलमा अनिल साहबाट क्याच आउट भए। अन्तिम ओभरमा तीन रन चाहिँदा दिलीप नाथले पहिलो बलमै चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। नाथ १५ रनमा नटआउट रहे। ट्रम्पलम्यान ६ रनमा नटआउट रहे। १९औँ ओभरमा ट्रम्पलम्यानको क्याच छुट्दा जनकपुरको आशा समाप्त भएको थियो।
बलिङतर्फ जनकपुरका संगिथ कोरीले ३ विकेट लिए भने मयन यादवले २ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनायो। खराब सुरुवात गरे पनि संगिथ कुरेले नटआउट ४५ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। मयन यादवले २३ बलमा नटआउट २७ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
ओपनर माज सदाकत ६ रनमा जेजे स्मिटको बलमा विकेटकिपर डिक्वेलाबाट पाँचौँ बलमै आउट भए। चौथो ओभरमा अनिलकुमार साह ७ रनमा आउट भए। उनले ट्रम्पलम्यानलाई चौका प्रहार गरे लगत्तै एलबिडब्लूको धरापमा परे।
ओपनर आशिफ शेख २० रनमा ट्रम्पलम्यानको बलमा क्याच आउट भए। आशिफले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे। शुभ कंसाकारले ११ रन बनाए।
लुम्बिनीका कप्तान रोहित पौडेलले १४औँ ओभरमा लगातार २ विकेट लिए। उनले दोस्रो बलमा सञ्जय कृष्णमूर्तिलाई क्याच गराए र अर्को बलमा कप्तान यान निकोल लफ्टी इटनलाई एलबिडब्लूको धरापमा पारे।
लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले २–२ विकेट लिए। जेजे स्मिट र ट्रम्पलम्यानले १–१ विकेट लिए। यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको स्थानमा नामिबियाका यान निकोल लफ्टी इटनले कप्तानी गरेका थिए। त्यसअघि जनकपुरका कप्तान अनिलकुमार साह थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।