लोड हुँदैछ...

मेनु

विराटनगरमा ५ हजार ५२७ किलो गाँजा खाल्डोमा पुरियो

विराटनगरमा ५ हजार ५२७ किलो गाँजा खाल्डोमा पुरियो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मितिमा बरामद गरिएको ५ हजार ५ सय २७ किलोभन्दा बढी गाँजा नष्ट गरेको छ ।

शुक्रबार प्रहरी कार्यालयको हाताभित्र खाल्डो खनेर उक्त परिमाणको गाँजा नष्ट गरिएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार वातावरणमा असर नपरोस् भन्ने उद्देश्यले गाँजा जलाएर नभई खाल्डो खनेर गाडिएको हो । उनका अनुसार विगतमा बाहिर जलाउँदा धुँवाले वातावरण र स्थानीयवासीलाई असर परेको गुनासो आएपछि यस्तो विधि अपनाइएको हो ।

एसपी कटवालले केही व्यक्तिले पुरिएको गाँजा खनेर लैजाने गरेको पाइएपछि यो पटक कार्यालय परिसरमै सुरक्षित रूपमा नष्ट गरिएको जानकारी दिए ।

कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा र भोजपुरमा व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको छ । त्यहाँबाट तस्करी हुँदै मोरङ, सुनसरी र झापाको सीमा क्षेत्रमा ल्याइने र त्यही बाटो हुँदै भारत तस्करी हुने गरेको छ ।

नेपाली बजारमा सस्तोमा पाइने गाँजा भारत पुगेपछि महँगो मूल्यमा बिक्री हुने भएकाले तस्करीको जोखिम बढ्ने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।