लोड हुँदैछ...

मेनु

एमाले मोरङको कार्यालय र नेताको घर जलाउनेविरुद्ध प्रहरीमा जाहेरी

एमाले मोरङको कार्यालय र नेताको घर जलाउनेविरुद्ध प्रहरीमा जाहेरी

विराटनगर । नेकपा एमाले मोरङले गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू विरुद्ध कानुनी कदम चाल्ने भएको छ । एमाले मोरङले क्षतिको विवरणसहित प्रहरीमा उजुरी प्रक्रिया अघि बढाएको हो ।

गत कात्तिक १३ गते बसेको जिल्ला कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार उमाकान्त गौतमको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार पार्टीलाई बुझाएको छ । सो प्रतिवेदनमा करोडौंको क्षति भएको विवरण आएलगत्तै एमालेले शुक्रबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा संस्थागत जाहेरी दर्ता गराएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमीरेका अनुसार शुक्रबार घटनाको समग्र अनुसन्धानका लागि संस्थागत जाहेरी दिइएको छ भने आइतबारदेखि घटनामा संलग्नहरूको पहिचान गरी नामै तोकेर ‘किटानी जाहेरी’ दिने तयारी छ । इन्चार्ज घिमिरेले भने, ‘पार्टी कार्यालय र नेताका घर जलाउन आउनेहरुको फोटो भिडियो सहित नाम दिन्छौ । अन्य प्रमाणका आधारमा आइतबारदेखि व्यक्ति किटान गरेरै कानुनी दायरामा ल्याउँछौं ।’

प्रतिवेदन अनुसार सबैभन्दा ठूलो क्षति पथरीशनिश्चरे नगर कमिटीको भवनमा भएको छ । आगजनी र तोडफोडबाट ठुलो क्षति भएको प्रतिबेदनमा उल्लेख छ ।यस्तै, विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बेलबारी नगर पार्टी कार्यालयमा ८ लाख ५० हजार, पथरीशनिश्चरे नगर पार्टी कार्यालयमा ३ लाख ५० हजार, उर्लाबारी नगर पार्टी कार्यालयमा १ लाख ६० हजार र मिक्लाजुङ गाउँ कमिटीको कार्यालयमा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको छ।

आन्दोलनकारीले नेताहरूको निजी निवासलाई समेत निशाना बनाएका थिए । प्रतिवेदन अनुसार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको घरमा तोडफोड र लुटपाट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

पूर्वमन्त्री भानुभक्त ढकालको घरमा १५ लाखको क्षति पुगेको छ भने ढकालको घरमा डेरा गरी बस्ने रुद्रप्रसाद बास्कोटाको कोठाबाट नगद र सामग्री गरी ४० लाख ९० हजार रुपैयाँ चोरी भएको गम्भीर तथ्यांक प्रतिवेदनमा समेटिएको छ। केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा ३ लाख ६० हजारको क्षति भएको छ।
प्रतिवेदनमा एमाले नेता जीवन घिमिरेको घरमा भएको ७ लाख बराबरको क्षतिको विवरण उल्लेख छ । आन्दोलनकारीले घर घेरेर आक्रमक शैली देखाएपछि घिमिरेले तत्कालै एमाले परित्याग गरेको विज्ञप्ति जारी गरेका थिए । तर, केही समयपछि उनी पुनः पार्टीमा सक्रिय भएका छन् । एमाले मोरङको कार्यक्रममा अन्य नेताहरूले सो घटनाबारे कुरा उठाएपछि घिमिरेले भावुक हुँदै रोएर जवाफ दिएका थिए ।

आन्दोलनका क्रममा स्थानीय सरकारका प्रमुखहरूको घरमा समेत आक्रमण भएको थियो । विराटनगर–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत, सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्बापो र सुनवर्षी नगरपालिकाकी उपप्रमुख मिरादेवी दास लगायतका जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण समितिले प्रशासनलाई बुझाएको छ । पाटी कार्यालय र नेताहरुको घरमा भएको आगजनीमा व्याक्तीगत तथा संंस्थगत निबेदन दिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।