उँधौली पर्वको उल्लास : धरानमा पाँच दिने चासोक तङ्नाम उत्सव

उँधौली पर्वको उल्लास : धरानमा पाँच दिने चासोक तङ्नाम उत्सव

धरान । प्रकृतिपूजक किरात समुदाय आज उँधौली पर्वको उल्लासमा छन् । किराँतका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आ–आफ्नै नाम र पहिचानका साथ मनाउने यो पर्व समग्रमा उँधौलीका रूपमा चिनिन्छ।

राई समुदायले उँधौली साकेला, लिम्बूहरूले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फोलस्यादर पर्वका रूपमा आजको दिन मनाइरहेका छन् । मंसिरे पूर्णिमाका कारण पनि आजको दिन विशेष मानिन्छ।

उँधौलीको अवसरमा धरानमा किरात याक्थुङ चुम्लुङले पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सव आयोजना गरेको छ। खेतीपाती भित्र्याउनुअघि प्रकृति र पितृप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्व खस आर्य समुदायमा धान्य पूर्णिमा र नेवार समुदायमा यः मरी पुन्हि (योमरी पूर्णिमा) का रूपमा पनि मनाइन्छ।

धरानमा सुरु भएको चासोक तङ्नाम उत्सवअन्तर्गत आज बिहान चासोक पूजा, हाङ्युक्ना सरसफाइ र शिरिजंगा सालिकमा माल्यार्पणका कार्यक्रम हुँदैछन्। भानुचोकबाट र्‍याली निकालिनेछ भने बेलुकी तङ्सिङ अनुष्ठान सम्पन्न हुनेछ। उत्सवको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।

मंसिर १८ देखि २२ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम हुनेछ । मंसिर २० गते केलाङ (च्याब्रुङ) नृत्य, यलाङ र पालाम प्रस्तुति, २१ गते याक्थुङजन्य खेलकुद तथा २२ गते समापन समारोहसहित आदिवासी जनजाति महासंघअन्तर्गतका संघ–संस्थाले सांस्कृतिक प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। मानवलाई खेतीपाती सिकाउने सिबेरा एक्थुम्मा–याबुङ्केक्मा देवीप्रति कृतज्ञता प्रकट गर्दै नयाँ अन्न पहिलोपटक देवी–देवतामा चढाएर मात्र खाने प्रथाबाट चासोक तङ्नामको परम्परा सुरु भएको मानिन्छ ।

धार्मिक चाड मात्र नभई लिम्बू समुदायको पहिचान, एकता, कृतज्ञता र सांस्कृतिक गौरव झल्काउने चासोक तङ्नामलाई यस वर्ष पनि भव्यरूपमा मनाइँदै छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्